बलात्कार : संस्कारले सिकाएको विभेदको परिणाम

         प्रमिला देवकोटा

काठमाडाै भदाै २६। आजभोलि समाचार हेर्दा यस्तो लाग्छ, देशमा बलात्कार उत्सव चलिरहेको छ ।त्यसैले त्यसमा छोरी र उनका परिवार भयमा छन् । बुधबार दिउँसो दश वर्षीया छोरी बलात्कार गरेको आरोपमा ललितपुरबाट एकजना बाउ पक्राउ परेका छन् । हुँदाहुँदा लुपुक्क काखमा सुताइरहेका बाबुलाई समेत छोरीले शंका गर्नुपर्ने अवस्था कति भयावह हो ।

 

एक महिनाबीच आठमहिने बालिकादेखि सात महिनाकी गर्भवतीसमेत बलात्कारमा परेका छन् । यो सामान्य हो, राज्य र समाजलाई । त्यसैले सरकारले उमेरअनुसार सजायको व्यवस्था गरिसकेको छ कानुनमा । बलात्कार रोक्न जनता जागरुक पार्नु त परैको विषय भयो, भएको कानुन कार्यान्वयन गर्न पनि सरकार गम्भीर छैन । बरु बलात्कारीलाई साथ दिने प्रहरी अघिकारीलाई मंगलबार महिला राष्ट्रपतिले उच्च सम्मान गरेकी छिन् ।

 

बलात्कार महिलाहिंसासँग जोडिएको जघन्य अपराध हो र त्यो अपराधको जरो महिलालाई पुरुषको सेवक ठान्ने संस्कार हो । संस्कार कुन धर्ममा आधारित भन्ने छैन किनभने विश्वमा रहेका मुख्य चार इसाई, इस्लाम, हिन्दू र बौद्ध धर्मले महिलाका विषयमा समान धारणा बोक्छन् । त्यो धारणा हो, महिला पुरुषका सहयात्री होइनन्, सहयोगी हुन् ।

 

यद्यपि सबै धर्ममा महिलालाई सम्मान गर्नुपर्ने पनि भनिएको छ । तर, व्यवहारमा महिला पुरुषका अधीनमा हुनुपर्ने विषयमा टेकेर सामाजिक संस्कार हाबी छन् ।

 

अमेरिकामा उन्नाइसौँ शताब्दीको अन्त्यमा महिलाविरोधी बाइबलको विकल्पमा महिलामैत्री बाइबल लेख्ने महिला, हिन्दूधर्मभित्रको महिला विभेद हटाउने नेपालकी योगमायादेखि पूर्वी एसियाको भर्खरै चल्दै गरेको बुद्धिस्ट फेमिनिज्म, सबैको प्रयास धर्ममा आधारित विभेद हटाउने हो ।

 

विगत केही दशकयता बाइबलमा लैंगिक विभेद भएका कारण अमेरिकामा महिला नास्तिक बन्ने क्रम बढेको रिपोर्टले देखाएका छन् । हामीकहाँ महिलाहिंसाको विषयमा संस्कार जोड्नेबित्तिकै पश्चिमा डलरको गन्ध भेट्टाउने प्रचलन पढेलेखेका तप्कामा छ । यो सजिलो तरिका हो, केही जागरुकले उठाएको विषयलाई गलत देखाउन । तर, उनीहरूले ठूलो मासलाई भड्काउनुअघि आफूले बोलेको विषय प्रमाणित गर्न सक्नुपर्छ ।

 

मनुले महिलालाई सम्मान गर्नुपर्छ भनेका छन्, त्यसैले हाम्रो समाजले महिलालाई मान गर्छ भनेर तर्क दिनेहरूले आफ्नै जीवन र वरिपरि नियाल्ने प्रयास नै गर्दैनन् । हामी कुनै धर्मशास्त्रका पाना नपल्टाऊँ, या त्यसको विकृति भन्दै विरोध गर्ने संघसंस्थाका पर्चा नपढौँ । सजिलो उदाहरण आफ्नी श्रीमतीलाई आफ्नो परिवारले गर्ने आदेशात्मक व्यवहार र श्रीमतीको परिवारबाट आफूले पाएको राजकीय मानबीचको भिन्नताको कारण खोजौँ ।

 

धर्मशास्त्रमा लेखिएको महिलालाई गर्ने मान व्यवहारमा त छाडौँ, सम्बोधनमा समेत पाउँदैनन् । त्यसैले धर्ममा लेखिएको महिलालाई पुज्नु भनेकोे नवरात्रिमा दुर्गा पुज्नु र चाडपर्वमा टीका लगाउनुमा मात्रै सीमित छ । पुरुष नेतृत्व भएपछि महिला अनुयायी हो । स्वाभाविक हो, अनुयायीले नेतृत्वको आदेशको सम्मान गर्नुपर्छ र उसको दीर्घायुको कामना पनि गर्नुपर्छ ।

 

नेतृत्वले चाहेको टक्र्याउनुपर्छ । महिलाले त्यसो गर्नबाट नभड्किऊन् भन्नैका लागि विभिन्न धर्मशास्त्र छन् । स्वस्थानी व्रत, साउने व्रत, तीज जस्ता पर्व त्यसैको सुनिश्चतताका लागि उत्पत्ति भएका हुन् ।

सामाजिक सञ्जालमा महिलाहिंसाका विषय अलिकति फैलिँदा धेरैजसोबाट प्रतिप्रश्न आउँछ । खोइ मानवअधिकारकर्मी रु खोइ उनीहरूको ब्यानर रु बोल्नुपर्दैन यस्तो विषयमा रु आउनुपर्दैन सडकमा रु उठेका प्रश्न सही हुन् ।

 

यस्तो विषयमा बोल्नुपर्छ तर प्रश्न गरिएको जमात गलत हो । बोल्नुपर्ने पहिलो पीडित हो । र पीडित नै आफूमाथिको अन्यायको विषयमा खुल्न डराउँछन्, जुन बढी डरलाग्दो हो । पीडित नबोल्नुका कारण त्यही संस्कृतिमा ठोकिन्छ र संस्कृति हाम्रो धर्मसँग जोडिन्छ ।

 

यसलाई पुष्टी गर्न एक महिना अगाडि बर्दियामा दलित महिलाले आफूमाथि जातको आधारमा विभेद गर्नेलाई अदालती सजाय दिलाएको पर्सिपल्ट आत्महत्याको प्रयासको कारण हेरौ । नया पत्रिकासगको अन्तवार्तामा उनले भनेको एउटा वाक्य असाध्यै सोचनिय छ । सजाय दिलाएपछि सबैले मलाई गाली गर्न थाले । मलाई यस्तो लाग्यो , दोषी त म पो हु ।’

 

अदालतले सजाय दिइसकेको छ । तर पीडितलाई लाग्छ दोषी उही हो । र उसमाथि भएका व्यवहार सबै सामन्य हुन् ।समाजले उनलाई विभेद गर्नु सामन्य थियो भन्ने विश्वास दिलायो । जेल जानु असामन्य हो भन्ने भान पारिदियो ।

 

राज्यले अपराध मानेको विषयलाई समाजले मात्रै होइन, त्यसलाई कार्यान्वयन गर्ने जिम्मा लिएको प्रहरीले समेत सामान्य मान्छ । त्यसले महिलालाई न्याय खोज्न होइन, लुकाउन या सम्झौता गर्न प्रेरित गरिरहेको छ । अपराधलाई सामान्यीकरण गरिरहेको छ । त्यसले अपराधीको मनोबल बढ्छ र पीडितको मनोबल घट्छ ।

 

त्यसले धेरै विभेदमा परेका समूहको मनस्थिति उही दलित महिलाको जस्तो बनाउँछ । आफूमाथि भएको ज्यादतीबारे आवाज उठाउनु गलत हो । असामान्य हो । किनकि हाम्रो परम्परा त्यही हो । हाम्री आमाका पुस्ता लोग्नेबाट पिटाइ खानु सामन्य मानेर बाँचेको पुस्ता हो । हाम्रै पुस्ता पनि अझै त्यही सोचमा अल्झेकै छ भन्ने बुझ्न घरेलु हिंसाका तथ्यांक पल्टाउँदा पुग्छ । यो सबको जरा हाम्रै संस्कार हो, छोरी हुर्काउने संस्कार ।

 

किनभने अझै पनि हाम्रा समाजमा महिलालाई मौन रहने संस्कार सिकाइँदै छ । एउटै परिवारले आफ्नो छोरालाई ससुरालीमा स्वाभिमान देखाउन सिकाउँछ भने सँगै हुर्केकी छोरीलाई सहन सिकाउँछ । छोरा टाउको उठाएर हुर्किरहेको हुन्छ, छोरी टाउको झुकाएर । त्यसले छोरालाई आत्मविश्वासी र छोरीलाई कमजोर बनाउँछ ।

 

त्यसैमा टेकेर कुनै पनि पुरुषले महिलामाथि सजिलै हिंसा गर्न सक्छ । आठ महिनाकी बालिकाको समेत योनी देख्ने मानसिकता केले बनाएको हो रु पुरुष हुँदा पाएको सामाजिक शक्तिले होइन ।

 

हाम्रो सामाजिकरण र देशको नीति नियम विल्कुल फरक छ जुन परिवर्तनका लागि समस्या हो । र त्यसैका लागि हरेक चेतनशील मान्छे वोल्न जरुरी छ । एउटी केटी स्कुलमा महिनावारी भनेको सामन्य प्रक्रिया हो जसले मानिसको जन्मको सुनिश्चितता गर्छ भनेर पढ्छे तर घरमा गएर उही केटी छाउपढीमा बस्न किन तयार हुन्छन् रु हाम्रोमा महिला अधिकारका क्षेत्रमा कानुनी रूपमा देखिने गरी प्रगति भएका छन् ।

 

तर, त्यसको पालना गर्नुचाहिँ निकै चुनौतीपूर्ण छ । हामीले तथ्यांक हेरौँ, महिलाले अंश पाउने भएपछि कति महिलाले अंश माग्ने आत्मविश्वास देखाए रु महिलाको नाममा नागरिकता दिने प्रावधान हुँदा पनि किन अदालतमा निवेदन दिन बाध्य छन् ।

 

कुन्ता शर्माको शक्तिशाली कविता छ– पोथी बास्नु हुँदैन । राम्रोसँग स्कुल जान नपाएका, उच्चशिक्षाको अवसर नभएका आमा पुस्ता मौन हुनुको कारण बुझ्न सकिन्छ । तर, स्नातकोत्तर गर्ने महिलासमेत आफ्नो वरिपरि हुने विभेदमा मौन छन् । किनकि यो ‘पोथी बास्नु हुँदैन’को सामाजिकीकरणको प्रभाव हो ।

 

अमेरिकाले भियतनाममा बम बर्षारहेको वेला वोस्टनमा शान्ति र्यालीलाई सम्बोधन गर्दै इतिहासकार तथा सामाजिक अभियन्ता होवार्ड जिनले दिएको भाषण असाध्यै चर्चित छ । उनी भन्छन् विश्वको समस्या आज्ञाकारिता हो । तानासाहलाई जनताले अवज्ञा नगर्नाले निर्दोष मानिसहरु मारिइरहेका छन् ।

 

याद गरौँ, सहरिया पढेलेखेका महिला संरचनागत हिंसा सहन गर्दा गाउँमा हजारौँ महिला छाउबाट, सानो उमेरमै आमा बनेर, बलात्कारबाट मरिरहेका छन् । हामी नबोल्नु अर्को उस्तै हिंसामा निरन्तरता दिने बाटो बनाउनु हो । बोलेनौँ भने अर्को पुस्ताले पढेलेखेका दर्शक आमा सम्झेर पक्कै लज्जा मान्नेछन्, फेरि उही कविता पढ्नेछन्– पोथी बास्नु हुँदैन ।नयाँ पत्रिका।