अमेरिकी वल्ड ट्रेड टावरमा आक्रमण भएको १७ वर्ष पूरा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भएको ठुलो आतङ्कवादी हमलाको १७ वर्ष पूरा भएको अवसरमा पेन्सिलभेनियाको स्मारकमा आयोजित विशेष कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।

 

सेप्टेम्बर ११, २००१ का दिन आतङ्ककारीले तीन वटा विमान अपहरण गरी अमेरिकाको महत्वपूर्ण संरचनामा आक्रमण गरेको थियो । जसमा दुई विमानले न्यूयोर्कस्थित वल्ड ट्रेड सेन्टरमा आक्रमण गरेको थियो, भने एउटा विमानले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आक्रमण गर्ने योजना थियो । तर, विमानका यात्रुले प्रतिरोध गरेसँगै तेस्रो विमान पेन्टागन नपुग्दै श्याक्सनभिल्लेमा झरेको थियो । विमानमा भएका ४० जना यात्रुसहित सबैको मृत्यु भएको थियो ।

 

वल्ड ट्रेड सेन्टरको आक्रमणबाट ठुलो क्षति भएको थियो । आतङ्कवादी संगठन अल–कायदाका नेता ओसामा बिन लादेनको निर्देशनमा भएको आक्रमणबाट तीन हजारभन्दा बढी मानिस मारिएका थिए । करिब एक दशकपछि तत्कालीन राष्ट्रपति बाराक ओबामाको आदेशमा अमेरिकी सेनाको कारबाहीमा मे २०११ मा लादेन मारिएका थिए ।

‘राष्ट्रपति ट्रम्प सहभागी हुने कार्यक्रममा त्यस विनाशकारी घटनाबाट ज्यान गुमाउनेहरुप्रति सम्मान प्रकट, र जीवन जोखिममा राखेर उद्धारमा खटिनेलार्इ सम्मान गरिनेछ,’ ह्वाइट हाउसकी प्रवक्ता सराह हकाबी स्यान्डर्सले बताए ।

 

राष्ट्रपति चुनिएपछि गत वर्ष राष्ट्रपति ट्रम्प पहिलो पटक वार्षिक समारोहमा सहभागी भएका थिए । उपराष्ट्रपति माइक पेन्स पनि मङ्गलबारको समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

 

सन् २००१ को आक्रमणका समयमा राष्ट्रपति ट्रम्प वल्ड ट्रेड सेन्टरबाट करिब साढे ६ किलोमिटर टाढा रहेको आफ्नै ट्रम्प टावरमा बस्दै आएका थिए । उनसँग सेप्टेम्बर ११ को घटनाप्रति मिश्रित धारणा रहिआएको छ । उनले पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले अमेरिकी जनतालाई सुरक्षित राख्न नसकेको भन्दै आलोचना गर्दै आएका छन् ।