डलरकाे भाउ १ सय १६ रूपयाँ नाघ्याे


काठमाडौं भदाै २६। नेपाल राष्ट्र बैंकले मंगलबार डलरको बिक्रीदर मूल्य ११६ रुपैयाँ २३ पैसा तोकेको छ। खरिददर मूल्य ११५ रुपैयाँ ६३ पैसा कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो। अघिल्लो दिनको तुलनामा डलर १ रुपैयाँ १५ पैसाले महँगो भएको छ।

 

नेपाल राष्ट्र बैंकको बिनिमयदर तथ्याङ्कअनुसार साढे दश वर्षअघि डलरको मूल्य ६२ रुपैयाँको आसपासमा थियो । दश वर्षको अबधीलाइ हेर्दा डलरको भाउ दोब्बरले बढेको छ । डलर महँगो हुँदा दैनिक उपभोग्य बस्तु दाल, तरकारी, खाद्यान्न, इन्धन लगायत सबैजसोको मूल्य बढ्न गई महँगीदर बढाउँछ।

 

नेपाली मुद्रासँग स्थिर बिनिमयदर रहने भारु कमजोर बनेसँगै नेपाली मुद्रामा त्यसको असर परेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च हुँदा अमेरिकाले इरानको तेलमा प्रतिबन्ध लगाउन अन्य देशहरुलाई चेतावनी दिएको छ।

 

डलरको भाउ सन् २०१४ को जनवरीमा आउँदा ९९ रुपैयाँ थियो २०१५ को सुरुआतका महिनामा सोही मूल्यकै हाराहारीमा रहे पनि अगष्टदेखि उकालो लागेको डलर सेप्टेम्बर महिनामा १०६ रुपैयाँसम्म कारोबार भयो। २०१६ को जनवरीमा १०८ रुपैयाँ नाघ्यो।

 

त्यसयता नबढेको डलर २०१८ को जनवरीमा आउँदा १०२ रुपैयाँसम्म झर्यो। त्यसपछि उकालो यात्रा लिएको डलर जुन महिनामा १०८ रुपैयाँ पुग्यो। जुन महिनापछि लगातार बढ्दै सेप्टेम्बर ११ अर्थात आज मंगलबारसम्म आउँदा डलरको मूल्यले ११६ रुपैयाँ नाघेको छ।