सुधार हुँदै सार्वजनिक यातायात

ललितपुर, भदौ २६ । अझैपनि साँघुरो भ्यानमा यात्रुलाई उभिएर यात्रा बाध्यता हटेकोे छैन । दुई जनाको सिटमा तीनजना कोचिएर बस्नुपर्ने यात्रुको बाध्यता हुन्छ । नयाँ यात्रुलाई आफू कहाँ पगियो भन्नेसम्म पनि जानकारी हुँदैन । चालक र सहचालकलाई कहाँ आइपुगियो भनी सोध्दा झर्किएर जवाफ दिन्छन् । यात्रु चढाउन जुनसुकै ठाउँमा पनि सवारी साधान रोक्छन् तर ओर्लने बेलामा भने चालककै खुशीमा झर्नुपर्छ ।

 

 

काठमाडौं उपत्यकाका सार्वजनिक सवारी साधनमा वर्षौदेखि यात्रुले भोग्दै आएको यो समस्या हो । दुई वर्षयता भने सार्वजनिक यातायातका क्षेत्रमा सुुधार हुँदै जाँदा यी र यस्ता घटना विस्तारै कम हुँदै गएको छ । सरकारले साना सवारी साधनको दर्ता बन्द गर्ने र ठूला सवारी साधनलाई प्रोत्साहन गर्दा सार्वजनिक सवारी साधनमा रहेका विकृति पनि कम हुँदै गएको हो ।

 

 

अबको केही वर्षमा यात्रुले वर्षाैदेखि भोग्दै आएको समस्या समाधान भएर जाने यातायात व्यवस्था कार्यालय वागमती अञ्चल कार्यालयले जनाएको छ । साझा यातायातले सेवा विस्तार गरेपछि साझा जस्तै नयाँ यातायात सेवा प्रदायक संस्था यस क्षेत्रमा बढेका छन् । सिट क्षमता धेरै भएका र यात्रुलाई विभिन्न सुविधा दिने सवारी साधन काठमाडौँं उपत्यकामा बढिरहेको छ ।

 

 

साना ठूला सवारी शाखाका प्रमुख वसन्तप्रसाद पन्थी सार्वजनिक सवारी साधनमामा सुधार आइरहेको बताउनुहुन्छ । उहाँ भन्नुुहुुन्छ,“नयाँ यातायात प्रदायकले यात्रुका लागि नयाँनयाँ सुविधा थपिरहेका छन् ।”

 

सरकारले यातायात क्षेत्रमा वर्षाैदेखि रहेको एकाधिकार अन्त्य गरेपछि यातायात क्षेत्रमा नयाँनयाँ सेवा प्रदायक आउन थालेको शाखा प्रमुख पन्थी बताउनुहुन्छ । पहिले यातायात व्यवसायी महासङ्घले ‘रुट परमिट’ दिने अधिकार हुँदा नयाँ सेवा प्रदायकलाई प्रवेश गर्न गाह्रो थियो । अहिले कार्यालयले सहकारी वा निजी कम्पनीका रुपमा दर्ता भएर आएका सबैलाई अनुमति दिइएको छ । उहाँ भन्नुहुन्छ, “विस्तारै यात्रुलाई आकर्षित गर्नका लागि पनि थप सेवा बढेका छन् ।”

 

साझा यातायातपछि मयुर यातायात, महानगर यातायात, रिद्धिसिद्धि यातायातलगायत सेवा प्रदायक थपिएका छन् । यीमध्ये कतिले यात्रुलाई टिकट दिने, वाइफाइ सेवा दिने, कुन ठाउँमा पुगियो जानकारी दिने र मनोरञ्जनका लागि टेलिभिजनको सुविधा पनि प्रदान गरेका छन् । नयाँ बसमा सिट क्षमता बढिरहेको छ । शाखा प्रमुख पन्थी भन्नुहुन्छ, “यात्रुले कष्ठकर रुपमा यात्रा गर्नुपर्ने बाध्यता भने कम हुँदैछ ।”

 

साना सवारी साधनले थोरै स्थान ओगटे पनि कम यात्रुलाई मात्र सेवा दिने यस्ता साधन धेरै हुँदा काठमाडौँंको सडकमा बढी सवारी साधान रोकिने गरेकाले सरकारले गत वर्षबाट दर्ता बन्द गरेको हो । ठूला सवारीसाधनले एकै पटकमा धेरै यात्रुलाई सेवा दिनसक्छ । उहाँ भन्नुहुन्छ ,“माइक्रो बसले भन्दा साझाजस्ता बसले दशौं गुणा बढी यात्रु बोक्न सक्छन् ।”

 

यातायातका क्षेत्रमा पूरै परिवर्तन नभए पनि सुधार देखिनु पनि सकारात्मक भएको सार्वजनिक यातायात क्षेत्रका अभियन्ता राम थापा बताउनुहुन्छ । सार्वजनिक यातायातमा काम गर्ने कर्मचारीको व्यवहारमा भने खासै परिवर्तन आएको छैन । उहाँ भन्नुहुन्छ, “उनीहरुले यात्रुसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा व्यवसायी र सरकारले सिकाउनुपर्छ ।”

 

यातायात कार्यालयमा कार्यरत डिल्लीराम अधिकारी नयाँ र सुविधा सम्पन्न बस दर्ता भइरहेको जानकारी दिनुहुन्छ । अरनिकोलगायत अन्य समिति अन्तर्गत सञ्चालित सवारी साधन पनि सहकारीमार्फत दर्ता हुँदै यात्रुका लागि विविध सुविधा लिएर आएका छन् । उहाँ जोड दिनुुहुन्छ, “फराकिला सिटदेखि झर्न, चढ्न र यात्रा अवधिभर यात्रुलाई सहज हुने कुरामा सेवा प्रदायकले ध्यान दिएका छन् ।” -रासस