निर्मला हत्या प्रकरण : ‘प्रहरीले दोषी बचाउन खोजेको पुष्टि’


महेन्द्रनगर भदाै २७। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रशासन थप शंकाको घेरामा परेको छ । घटनाको अभियुक्त भनी प्रहरीले पक्राउ गरेका दिलिपसिंह विष्ट डीएनए परीक्षण नमिलेपछि रिहा भएका छन् ।

 

हाजिरी जमानीमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विष्टलाई मंगलबार साँझ रिहा गरेको हो । ‘अनुसन्धान गर्दै जादा दिलीपसिंह विष्टको डीएनए परीक्षणको रिर्पोट नेगेटिभ देखियो’, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी कुबेर कडायतले भने, ‘मुद्दा चलाउनुपर्ने अन्य कुनै पनि यथेष्ट प्रमाण नभेटिएकाले सरकारी वकिलसँगको सहमतिमा हाजिरी जमानीमा छोडिएको हो ।’

 

मुद्दा अदालतमा लैजान यथेष्ट प्रमाण नपुगेकाले उनलाई छाडिएको प्रहरीले जनाएको छ । ‘अनुसन्धान गर्दै जाँदा हिरासतमा राख्ने समय पनि सकिँदै थियो’, एसपी कडायतले भने, ‘मुद्दा अदालतमा लैजान यथेष्ट प्रमाण पनि पुगेन ।’ दिलीपसिंह विष्टलाई उनका दाजु खड्गसिंह विष्टको जिम्मा लगाएर छोडिएको छ । विष्टमाथि अनुसन्धान भने जारी नै रहने कडायतले बताए ।

 

निर्मलाको डीएनएको प्रोफाइल र दिलिपसिंहको डीएनएको प्रोफाइल नमिलेपछि उनलाई मुद्दा चलाउनुपर्ने कारण नदेखिएको प्रहरीले जनाएको छ । निर्मला पन्तको भेजाइनल स्वाब ९योनीभित्रको तरल वस्तु० मा रहेको बलात्कारीको डीएनए र दिलिपसिंह विष्टको डीएनए फरक पाइएको हो । विधि विज्ञान प्रयोगशालाले दिलिपको डीएनए नमिलेको रिपोर्ट पठाएको हो । ‘विष्टको स्वास्थ्य परीक्षणको रिपोर्ट भन्न नसकिने भन्ने आएको छ’, एसपी कडायतले भने, ‘झुटो बोल्ने र डायग्नोसिस गर्न नसकिने भन्ने उल्लेख छ ।’

 

भदौ ४ गते प्रहरीले मुख्य अभियुक्त बनाएर भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय विष्टलाई सार्वजनिक गरेको थियो । सोमबार डीएनए परीक्षणपछि रिपोर्ट महेन्द्रनगर पठाइएको थियो । विष्टलाई स्वास्थ्य परीक्षणका लागि प्रहरीले काठमाडौं लगेको थियो । काठमाडौंमा १० दिन उनको मानसिक स्वास्थ्य अवस्था र अन्य चेकजाँच गराएर शुक्रबार मात्रै महेन्द्रनगर ल्याइएको थियो ।

 

निर्मलाको बलात्कारपछि हत्या गरिएको २६ औं दिनमा तत्कालीन जिल्ला प्रहरी नेतृत्व र केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अंगुर जीसी नेतृत्वको टोलीले निर्मलाको बलात्कारपछि हत्या विष्टले नै गरेको निष्कर्ष निकालेको थियो । साउन १० गते साथीको घर पढ्न गएकी निर्मलाको साइकलमा फर्किने क्रममा बीच बाटोमा चेन फुत्केको र चेन लगाइदिने भन्दै नजिकैको उखुबारीमा लगेर पक्राउ परेका अभियुक्तले बलात्कार गरेको निष्कर्ष प्रहरीले भदौ ४ गते पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

 

प्रहरीले आरोपित विष्टले अपराध स्वीकार गरेको दाबी गरेको थियो तर उनलाई पत्रकार सम्मेलनमा बोल्न दिइएको थिएन । विष्टले पक्राउ परेलगत्तै अदालतमा म्याद थपका क्रममा आफू निर्दोष रहेको बताएका थिए । विष्टलाई अभियुक्त बनाएर सार्वजनिक गरेपछि प्रहरी अनुसन्धानमा शंका गर्दै निर्मलाका परिवार र स्थानीयले आन्दोलन गरेका थिए ।

 

प्रहरीले नै निर्दोषलाई अभियुक्त बनाएर दोषी उम्काउन खोजेको भन्दै भएको आन्दोलनमा भदौ ७ र ८ गते प्रहरीले गोली चलाएको थियो । भदौ ८ गते प्रहरीको गोलीबाट १७ वर्षीय सन्नी खुनाले ज्यान गुमाएका थिए भने थुप्रै घाइते भएका थिए । आन्दोलन हिंसात्मक बनेपछि महेन्द्रनगरमा एक हप्ता कफ्र्यू लगाइएको थियो । घटनापछि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो भने प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख एसपी, डीएसपी परिवर्तन गरेको थियो ।

 

छानबिन समितिकै सिफारिसमा तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई गृह मन्त्रालयले निलम्बन गरेको छ । छानबिन समितिले प्रहरीले अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालिसकेको छ । समितिले छानबिन प्रतिवेदन नदिँदै सोमबार सदस्य वीरेन्द्र केसीले राजीनामा दिएपछि निर्मला हत्या प्रकरणको अनुसन्धान रहस्यमय बनेको छ ।

 

भीमदत्त–२ उल्टाखामकी १३ वर्षीया निर्मला गत साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी थिइन् । अर्को दिन उनको भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोलामा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

बम दिदीबहिनी समेत रिहा

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनामा अनुसन्धानका लागि थुनामा लिएका बम दिदी बहिनी समेत मंगलबार रिहा भएका छन् । प्रहरीको नयाँ नेतृत्व कञ्चनपुर पुगेपछि अनुसन्धानका लागि भदौ ८ गते पक्राउ गरेर अनुसन्धान थालिएका बम दिदीबहिनी रोशनी ९आँचल० र अनिता ९बबिता० लाई पनि मंगलबार रिहा गरेको हो । बम दिदीबहिनीमध्ये रोशनी अर्थात् आँचल बमलाई हाजिरी जमानीमा र उनकी दिदी अनिता बमलाई ३० हजार धरौटीमा रिहा गरिएको एसपी कडायतले जानकारी दिए ।

 

‘हामीले उनीहरूलाई समेत थुनामा राखेर अनुसन्धान ग¥र्यौं’, एसपी कडायतले भने, ‘अहिलेसम्मको अनुसन्धानमा घटनामा संलग्न रहेको यथेष्ट प्रमाण पुगेन र उनीहरू रिहा भए ।’

 

बहिनी हाजिरी जमानी र दिदी धरौटीमा रिहा भए पनि उनीहरूमाथिको अनुसन्धान जारी नै रहने उनले बताए । बम दिदीबहिनीलाई उनका बुवा नरेन्द्र बमको जिम्मा लगाएर छाडिएको हो।

निर्दोष भएर पनि दुःख पाइयोः विष्ट

प्रहरी थुनाबाट २४ दिनपछि रिहा भएका ४१ वर्षीय दिलिपसिंह विष्टले बिना कसुर अभियुक्त बनाएर आफूलाई दुःख दिइएको बताएका छन् । मंगलबार रिहा भएपछि छोटो प्रतिक्रिया दिँदै उनले आफू घटनामा संलग्न नभएको दोहो¥याए ।

 

उनले प्रहरीले जबर्जस्ती फसाउन खोजे पनि आफ्नो घटनामा कुनै संलग्नता नरहेको प्रमाणपछि रिहा भएको प्रतिक्रिया दिए । दाजु खड्गसिंह विष्टले समेत मानसिक अवस्था ठीक नभएका भाइलाई प्रहरीले जबर्जस्ती दोषी करार गर्न खोजेको बताए । निर्दोष फसाउन खोज्ने तत्कालीन प्रहरी नेतृत्वलाई कारबाही हुनुपर्ने उनले बताए । आजको अन्नपूर्णपोष्टमा समाचार छ ।