दिलीप अपराधी होइनन् भन्दा गोली हानियो

काठमाडौं भदाै २७। दिलीप निर्दोष भएको भन्दै स्थानीयले ५ देखि ८ भदौसम्म आन्दोलन चर्काएका थिए । आन्दोलनका क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका सन्नी खुनाले ज्यान नै गुमाउनुपर्‍यो ।

 

आन्दोलनमा गोली लागेर घाइते भएका २० वर्षीय युवा अर्जुन भण्डारा १९ दिनदेखि बेहोस छन् । गोली लागेर अत्यधिक रक्तस्राव भएपछि उनले खुट्टा नै गुमाउनुपरेको छ । अस्पताल ल्याउन ढिला भएको र कोषहरू मरिसकेकाले चिकित्सकले खुट्टा काटेर फाल्नुपरेको उनका दाइ योगेन्द्रले बताए ।

 

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियू ४०८ नम्बर बेडमा उनको उपचार भइरहेको छ । अहिलेसम्म ३० पिन्ट रगत दिइसकिएको छ ।

 

‘१९ दिन भइसक्यो अझै भाइको होस आएको छैन । डाक्टरले एउटा खुट्टा पनि काटे । अब त यहाँ हुन्न टिचिङ लैजाउ भनेका छन् । दिमागमा असर पुगेको छ भन्छन् । त्यहाँ आइसियू बेड खाली नभएकाले लान सकिएको छैन,’ दाइ योगेन्द्रले भने, ‘प्रहरीले निर्दोषलाई बलात्कारी र हत्यारा भनेर समातेको विरोध गर्दा मेरो भाइले गोली खानुपर्‍यो । अब त हत्यारा र बलात्कारी भनिएका पनि छुटे । अपराधी कहाँ छ, सरकारले खोज्न सकेको छैन ।

 

भीमदत्त नगरपालिका–१ भाँसीका १६ वर्षीय उमेश देउवा पनि घाइते भएका थिए । उनको अवस्था पनि सहज भएको छैन । हात र खुट्टामा गोली लागेका उनको शिक्षण अस्पतालको ४१४ नम्बर बेडमा उपचार भइरहेको छ । उनको गोली लागेको हात चल्दैन । चिकित्सकले ७र८ महिना अस्पताल बस्नुपर्ने हुन सक्छ भनेको उनका बुवा यज्ञ देउवाले बताए । सरकारले उमेशको उपचार खर्च मात्र निःशुल्क गरेको, तर खाना खर्च नदिएकाले समस्या परेको उनले बताए ।

 

निर्मला मेरी साथी मात्र होइन छिमेकी पनि हुन् । हामी फरक विद्यालयका एउटै कक्षाका विद्यार्थी थियौँ । उनको बलात्कारपछि हत्या भएको र प्रशासनले निर्दोषलाई अपराधी भन्दै समातेको र वास्तविक हत्यारा पत्ता लगाउन खोजी नगरेको विरोधमा भैरहेको आन्दोलनमा म पनि सहभागी भएँ,’ ८ भदौमा बेलुका ५ बजे प्रहरीले जिल्ला प्रशासनअगाडि भएको प्रदर्शनमा गोली चलायो । भाग्दै थियौँ, ताकेरै गोली हान्यो । अहिले गोली लागेको हात पनि चल्दैन, खुट्टा पनि चल्दैन । मेरो जीवन डामाडोल भयो ।’ घाइते उमेशले भने, ‘हत्यारा अझै खोज्न सकेको छैन सरकारले । हत्यारा पत्ता लगाएर कारबाही गरे मात्र निर्मलालाई न्याय हुन्छ ।

 

अरु घाइते उपचारपछि घर फर्किएका छन् । हातमा गोली लागेका तेजराज भट्टकी आमा पुनमले छोराको हात दुखिरहेको बताइन् । राम्रो ठाउँमा लगेर उपचार गर्न तथा पोसिलो खानेकुरा खुवाउन आर्थिक अभाव भएको गुनासो गरिन् । भीमदत्त नगरपालिका–१८ जानकी टोलका १४ वर्षीय चेतन भट्ट, भीमदत्त नगरपालिका–१८ भगतपुरका ४६ वर्षीय सुरेश चटौत, भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका मञ्जु गिरी पनि घाइते भएका थिए । भारतको भोजिपुरामा उपचार गरेका सुरेश चटौतका आफन्त दुर्गादत्त चटौतले सुरेशको स्वास्थ्य अवस्था अहिले ठीकै रहेको बताए ।  आजको नयाँपत्रिकाबाट ।