बाढीले विद्यालय भवन बगायो, बेनी बजार जोखिममा

म्याग्दी, २८ भदौ । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले विद्यालयको भवन बगाएको छ । रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माविको भवन बाढीले बगाएर क्षत्ती पु¥याएको हो ।

 

छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनिएपछि बुधबार साँझ आएको बाढीले कटान गरेर विद्यालयको दुई वटा भवन, एक वटा शौचालय पूर्ण र एक वटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार ४ कोठे र २ कोठे भवन पूर्ण तथा ३ कोठे भवनको आधा भाग बगाएको छ । घ्याँसीखर्क स्थित स्वास्थ्य चौकीको भवन खोलाले बगाएर ल्याएको बाढी थुप्रिएर पुरीएको छ । तिन वटा झोलुङ्गे पुलमा पनी बाढीले क्षत्ती पु¥याएको छ ।

 

खरिबोट स्थित बेलबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल र यमबहादुर छन्त्यालको घर नदीले कटान गरेर बगाएको छ । कुईनेमंगलेको तेर्सो भन्ने ठाउँमा अर्को एक वटा घर पनि रघुगंगामा आएको बाढीले बगाएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।

 

करिब बिस घरको बसोबास रहेको घ्याँसीखर्क गाउँ नदी कटानका कारण जोखिममा परेको छ । यसैगरी माथिल्लो क्षेत्रका विभिन्न ठाउँमा गएको पहिरोपछि रघुगंगा र कालीगण्डकी नदीमा आएको बाढीले तटीय बस्तीहरुमा क्षत्ती पु¥याएको छ ।

 

सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा निर्माणाधिन पक्कि पर्खाल बाढीले बगाएको प्रजिअ लिलाधर अधिकारीले बताउनुभयो । करिब पचास मिटर पक्कि पर्खाल बगाएर बस्तीतर्फ कटान गर्न थालेपछि बेनी बजार उच्च जोखिममा परेको छ । यसैगरी रघुगंगा गाउँपालिका ३ राहुघाटको बस्ती र बेनी जोमसोम सडक अन्तरगतको बेलिब्रिज कटानको जोखिममा परेको छ ।

 

कालीगण्डकीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका २ वारीबेनीदेखि बगरफाँटतर्फ जाने करिब दश मिटर सडक बगाएको बगरफाँटका सुरेशबहादुर बिकले बताउनुभयो । कटान र पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

 

चमेरे, बैसरी, बेगखोला, भुरुङ तातोपानी, रुप्से र घाँसा खण्डमा पहिरो र कालीगण्डकीको कटानका कारण सडक अवरुद्ध हुँदा स्थानीयबासी, मुस्ताङ जाने आउने पर्यटक समस्यामा परेका छन् । मुस्ताङमा उत्पादीत स्याउ बजार पठाउन समस्या भएको छ ।

 

यसैगरी पहिरोले मुस्ताङको थासाङ गाउँपालिका ५ कुञ्जो स्थित स्वास्थ्य चौकी र आमा समूहको भवन पुरीएर पूर्ण रुपमा क्षत्ती पुगेको छ । थासाङ गाउँपालिका २ सौरुमा बाढी पस्दा दश घरमा क्षत्ती पुगेको छ ।

 

मुस्ताङ र म्याग्दीको माथिल्लो क्षेत्रमा पहिरोपछि कालीगण्डकी नदीमा बुधबार अपराहन्न पाँच बजेदेखि नौ बजेसम्म बाढीको सतह बढेको थियो । राती सुरक्षित ठाउँमा गएर बास बसेका तटीय क्षेत्रका बासिन्दाहरु नदीमा बाढीको सतह घटेपछि बिहानदेखि घर फर्कन थालेका छन् ।रासस