निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद्: राष्ट्रपति भण्डारी

काठमाडाैं भदाै २९।राष्ट्रपति भण्डारीले संविधानप्रदत्त बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यावहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार अन्त्य गर्न सकिन्छ भनिन् ।

 

 राष्ट्रपति  भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गरेकी छिन् ।

 

“ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा सङ्लग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील बन्नुपर्छ , उनले भनिन् ।

 

राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई आज  सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् भएकाे उनले बताइन् । उनले पन्तको बलात्कारपछि हत्याको घटनाले आफूलाई अत्यन्त दुःखी तुल्याएको चर्चा गर्दै यस दुःखद् घटनाप्रति परिवारजनमा सहानुभूति प्रकट गरिन्।

 

बालबालिकामाथि हुुने हिंसा, दुव्र्यवहार, बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्छ उनले भनिन् । राष्ट्रपति भण्डारीले भनिन्, “कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलङ्क हो, यसलाई जरैदेखि उखलेर फाल्नुपर्छ ।

 

आजका बालबालिका भोलिका सक्षम र योग्य नागरिक हुन्, उनीहरुको जन्मदेखि नै स्वास्थ्य एवं शिक्षामा सरकारको विशेष ध्यान जानुपर्छ उनले भनिन् । यसवर्षको बाल दिवसको नारा “सुखी नेपाली, समृद्ध नेपाल बालअधिकार सबैको सरोकार” रहेको छ ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले संविधानप्रदत्त बालबालिकाका अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक ऐन तयार गरी मन्त्रालयले संसदमा प्रस्तुत गरेको बताउनुभयो । बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार तथा बलात्कारका घटना अन्त्य गर्न सामूहिक प्रयासको खाँचो छ।