निर्मला हत्या प्रकरण :डिआईजीको नेतृत्वमा कमिटी गठन निलम्बित र अनुसन्धानमा संलग्न प्रहरीमाथि नै छानबिन हुने

काठमाडौं भदाै ३१। कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्त बलात्कार प्रकरण हत्याकाण्डमा प्रहरी अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकारी र तल्लो तहका सदस्यको संलग्नताबारे छानबिन गर्न डिआइजी धिरु बस्न्यातको नेतृत्वमा समिति गठन गरिएको छ ।

 

बस्न्यात नेतृत्वको कमिटीले केन्द्रीय अनुसन्धान ब्यूरोबाट त्यतिबेला अनुसन्धानका लागि कञ्चनपुर गएको डिएसपी अंगुर जिसी, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र अनुसन्धानमा संलग्न अन्य प्रहरी कर्मचारीको भूमिकाबारे छानविन गर्ने बताइएको छ । नक्कली अभियुक्तको रुपमा दिलिप विष्टलाई सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्किएको थियो ।

 

गृह मन्त्रालयले शनिबार केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएका डिएसपी अंगुर जिसी, कञ्चनपुर प्रहरीका तत्कालीन डिएसपी ज्ञानबहादुर सेटी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत इन्सपेक्टर एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका सई रामसिंह धामीलाइ निलम्बन गरेको हो।

 

डिआइजी बस्न्यात केही दिन अघिमात्रै एआइजीको बढुवाका लागि सिफारिस भएका थिए । समितिका सदस्यहरुमा एसएसपी उत्तमकुमार सुवेदी, निरज शाही डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकी लगायत ९ जना रहेका छन् ।

 

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले भने, ‘‘पुरानै टोलीको दायरा फराकिलो पारिएको हो । यसले अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकारीको भूमिकाको अध्ययन गर्नेछ ।’’ यसअघि भदौ १४ गते एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । घट्नास्थलमा प्रहरी बरिष्ठ उपरिक्षक ठाकुर ज्ञवालीको नेतृत्वको अनुसन्धान टोली पठाएर नयाँ शिराबाट अनुसन्धान शुरु गरेको प्रहरी प्रधान कार्यालयले केही दिनअघि मात्रै एसएसपी उत्तम सुवेदीको नेतृत्वमा दोस्रो समिति गठन गरेको थियो ।

 

उत्तम सुवेदीको नेतृत्वमा गठित समितिलाई उच्चस्तरीय बनाउँदै गठन भएको बस्न्यात नेतृत्वको कमिटीले निर्मला हत्याकाण्डको अनुसन्धानमा संलग्न सिआईबी लगायतको निकायबाट खटिएका अनुसन्धानकर्ताहरुको भूमिकाबारे छानविन गर्नेछ । ‘कञ्चनपुर घट्नामा प्रहरीको भूमिकाको सम्बन्धमा विस्तृत छानविन र प्राविधिक अनुसन्धान गर्नका लागि यो कमिटी बनेको हो’ प्रहरी प्रवक्ता क्षेत्रीले भने, ‘गृह मन्त्रालयबाट निलम्बित ६ जनासहित कञ्चनपुर घट्नाको अनुसन्धानमा संलग्न सबै तहका प्रहरी कर्मचारीले खेलेको भूमिकाबारे अनुसन्धान हुन्छ ।’