महाजनलाई दुई सय ऋण बुझाउन नसक्दा एक वर्ष जेल !

काठमाडौं असाेज १। धनुषाका एक दलितले महाजनलाई दुई सय ऋण बुझाउन नसक्दा आइतबार एक वर्षको लागि जेल चलान गरिएको छ ।

जनकपुर उपमहानगरपालिका १८ कुवा रामपुरका ६० वर्षीय राधाकृष्ण खंग खत्वे आईतबार स्वयं जिल्ला अदालत धनुषामा हाजिर भई जेल चलान गरी दिन आग्रह गरेका थिए ।

 

‘सुरुमा अदालतका कर्मचारीहरुले पक्राउ पूर्जी दिन आनाकानी गरेका थिए । पछि नागरिकता प्रमाणपत्र देखाए पछि, बल्ल जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखे ।’ खंगसंगै अदालत पुगेका सोही गाउँका कुशेश्वर मेस्तरले जानकारी दिए ।

 

मेस्तरका अनुसार– खंगलाई जिल्ला अदालत पुर्याउन गाउँका सात जना दलित संगै आएका थिए – ‘हामी स्नान पूजागरी गाउँको शिवमन्दिरमा भेला भयौं । भगवान शिवलाई साक्षी राखी सीधा जिल्ला अदालत पुगेर खंगलाई आत्मसमर्पण गरायौं ।

 

‘२ सय रुपैयाँ नतिरेको कारण जेल जानु परेको पहिलो घटना होला । दलितमाथिको अन्याय कहिले अन्त्य होला ।’ कुशेश्वर मेस्तरले भने । पत्रकार महासंघ धनुषाको विद्यापति चौकस्थित कार्यालयमा शनिबार पत्रकार सम्मेलन आयोजन गरी खंगले आफू आत्मसमर्पण गर्न लागेको जानकारी गराएका थिए

 

‘प्रहरी पटक पटक घरमा जान्छ । परिवारका महिला पुरुषलाई धम्काउँछ । घर परिवारका सदस्यहरुलाई दुख दिनुको सट्टा जेलमै बस्छु ।’ खंग भनेका थिए ।  आजको कान्तिपुर दैनिकबाट।