फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगमलार्इ अझै घाटा


काठमाडौँ  असाेज २। नेपाल आयल निगमले आज सोमबार रातिदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा वृद्धि गरेको हो । निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर २ र मट्टितेलको मूल्य प्रतिलिटर ३ रूपैयाँले वृद्धि गरेको हो ।

 

सोमबारदेखि गरिएको मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय १४ रूपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य १०१ रूपैयाँ पुगेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबारको मूल्य वृद्धिपछि पनि पेट्रोलमा २।९२ र डिजलमा २ रूपैयाँ प्रतिलिटर घाटा रहेको निगमले जनाएको छ।

 

निगमले हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य वृद्धि नभएको जनाएको छ । मूल्य बढेपछि पनि इन्धनको व्यापारमा निगमले घाटा नै खानु परेको जनाएको छ । मूल्य नबढाइए पनि एलपी ग्याँसमा प्रतिसिलिण्डर ३०९।७९ रुपैयाँ घाटा रहेको गोइतले बताए ।

 

नेपालले भारतबाट मात्रै पेट्रोलियम पदार्थ ल्याउने गरेको छ । भारतीय आयल कर्पोरेशनले पठाउने मूल्य सूचीअनुसार निगमले १५(१५ दिनमा मूल्य समायोजन गरिरहेको छ । यो खबर आजको अन्नपूर्णपोष्टमा छ ।