मलेसियामा विषाक्त मदिरा सेवन गरेर चार नेपालीसहित १५ जनाकाे मृत्यु

काठमाडौं असाेज २।मलेसियाको क्लाङ भ्याली क्षेत्रमा सोमबार विषाक्त मदिरा सेवन गरेकामध्ये १५ जनाको मृत्यु भएकोमा ४ नेपाली कामदार रहेको मलेसियाली अनलाइन पोर्टल द स्टारले जनाएको छ।विषाक्त मदिरा सेवनबाट मलेसियामा चार नेपाली कामदारसहित १५ जनाको मृत्यु भएको छ।

मलेसियन प्रहरीले मृत्यु हुनेमध्ये अहिलेसम्म ७ जनाको मात्र पहिचान भएको बताएको छ। जसमा ४ नेपाली, एक मलेसियन, एक भारतीय र एक बंगलादेशी नागरिक रहेका छन्। उनीहरुको नाम भने खुलाइएको छैन।

 

३३ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय संचार माध्यमले जनाएका छन्। जसमध्ये १९ जनाको पहिचान खुलेको छ। पहिचान खुलेकामध्ये १५ जना नेपाली कामदार, दुई जना मलेसियाली र दुई जना बंगलादेशका नागरिक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

 

उनीहरूको मलेसियाको क्लाङ भ्यालीस्थित विभिन्न अस्पतालमा उपचार हुँदैछ। उनीहरूले मनडलाय ह्विस्की, किंग फिसर बियर र ग्रान्ड रोयल ह्विस्की सेवन गरेका थिए, जुन स्थानीय विभिन्न पसलबाट खरिद गरिएको थियो।