मलेसियामा  विषाक्त मदिरा सेवन गरि मृत्यु हुने नेपाली कामदारको पहिचान खुल्यो,[ नाम र ठेगना सहित ]

सांकेतिक तस्बिर

काठमाडौं, असोज ३ । मलेसियामा  विषाक्त मदिरा सेवन गरेर मृत्यु भएका नेपाली कामदारहरुको पहिचान खुलेको छ । मलेसियास्थित नेपाली दूतावासले बुधबार एक प्रेस वक्तव्य जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको जनाएको छ ।

 

मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका मिमबहादुर घले, मसिना–६ रुपन्देहीका रामकुमार यादव, अमरगढी–५ डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा–९ सुनसरीका संजय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुंग र आइतसिंह गोले रहेका छन् ।

 

गोलेको भने पहिचान एकिन हुन बाँकी रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । घलेको उपचारका क्रममा काजाङ अस्पतालमा मृत्यु भएको र अन्यको सुंगाइबुलो अस्पतालमा मृत्यु भएको दूतावासद्वार जारी वक्तव्यमा उल्लेख छ । मदिरा सेवनपछि बिरामी परेका अन्य १६ जनाको भने मलेसियाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

दूतावसले असुरक्षित मदिरा अत्याधिक सेवनको कारणले मृत्यु हुने र मादक पदार्थ सेवनको कारण अन्य दुखःद घटनाहरु यसअघि पनि घट्ने गरेतापनि यति ठूलो घटना पहिलो पटक भएको बताएको छ ।