कैलालीको जोशीपुरका व्यापारी जैसीको हत्यामा संलग्न तीन जना प्रहरी हिरासतमा

धनगढी ,असाेज ४। कैलालीको जोशीपुरका व्यापारी रामप्रसाद ओझा (जैसी) को हत्या आरोपमा प्रहरीले तीन जना प्रक्राउ गरेको छ।

 

डिएसपी हरिबहादुर वलीका अनुसार तीनै जनालाई अनुसन्धानका लागि अदालतबाट म्याद लिई थुनामा राखिएको छ।गंगारामलाई उनकै घरबाट, राजकुमारलाई धनगढी २ मा पर्ने नेपाल भारत सीमा नजीकबाट र डम्बरलाई गोदावरी ८ बाट पक्राउ परेको विज्ञप्तिमा जनाइएको छ।

 

पसलै रहेका बेला हत्या गरेको अभियोगमा प्रहरीले जोशीपुर गाउँपालिका १ का गंगाराम चौधरी र सोही ठाउँका राजकुमार चौधरी र टीकापुर नगरपालिका ३ घर भई गोदावरी ८ मा व्यापार गरिरहेका डम्बर चौधरीलाई पक्राउ गरेको हो।

 

पक्राउ परेका उनीहरुबाट प्रहरीले ओझाले प्रयोग गर्ने मोबाइल, सात हजार एक सय १० भारतीय रुपैयाँ र २२ वटा १०० रुपैयाँको एनसेल रिचार्ज कार्ड बरामद गरेको जनाएको छ । प्रहरी नायव उपरीक्षक चोरी गर्नकै लागि ओझाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाए । उनले गंगारामको योजनामा गंगाराम र राजकुमारले घरमा सुतिरेका जैशीको घाँटी टारले कसेर हत्या गरेको बताए ।

 

मृतक जैशी जोशीपुर बजारमा रहेको आफ्नै घरमा किराना व्यापार गर्दै आएका थिए । उनकी श्रीमती तीज मनाउन टीकापुरस्थित माइती घरमा बालबच्चा सहित गएको बताइएको छ ।

 

जोशीपुर गाउँपालिका १ का ३८ वर्षीय जैशी गत भदौ २९ गते बिहान घरभित्रै विस्तरामा मृत भेटिएका छन् । मृतकको घाँटीमा डोरी जस्तो वस्तुको छापा देखिएकोले हत्या गरिएको हुन सक्ने आशंका गरी प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।उनका दुई छोरा र एक छोरी छन् ।