खुर्सीद हत्याकान्ड : ‘तीव्र गतिमा आए, गोली हानेर भागे’


काठमाडौं असाेज ६। रैयान पब्लिक स्कूलको संचालक तथा प्रिन्सिपल रहेका खुर्सीदले बुधबार बिहान विद्ययालय व्यबस्थापन समितिको बैठक सकेर स्थानीय अक्बर सिद्धिकीको पसलमा चिया खान गएका थिए । सँगै चिया खाएका आफ्न्त अमिन अन्सारीलाई घरसम्म मोटरसाइकलमा पुर्‍याइ दिन आग्रह गरेपछि दुबै जना हिडेका थिए ।

 

मोटरसाइकलमा मूल सडकबाट नगई छोटो दुरीको अर्कै बाटोबाट उनले आफ्नो विद्यालय नजिक भारत बोर्डरसम्म जाने सडकमा निस्केर घरतर्फ लागेका थिए । उनले आफ्नो विद्यालयभन्दा ५० मिटर दक्षिण गएपछि पछाडीबाट दुई वटा मोटरसाइकल आयो । सेतो प्लेट भएको हरियो रंगको पल्सर र सेतो रंगको अपाचे मोटरसाइकल दुबै उनको मोटरसाइकलको दुबै तिरबाट उनलाई बीचमा पारेर गोली प्रहार गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

 

‘पूर्वपट्टीको मोटरसाइकलमा सबार अज्ञात व्यक्तिले प्रहार गरेको गोली उनको बायाँ कञ्चटमा र पश्चिमपट्टीबाट प्रहार गरेको गोली दायाँ कोखमा लागेर मोटरसाइकल चालक अमिनको जीउमा ढले, स्थानीय जलाल अन्सारीले भने, ‘मोटरसाइकल चालक अमिनले सुरुमा मोटरसाइकलको टायर पडेको आशंका गरेको तर पछि खुर्सिदको जीउबाट रगत बगेको देखेपछि मात्रै गोली प्रहार भएको थाहा पाएको थियो ।’

 

आक्रमणकारी दुबैले हेलमेट र मास्क लगाएको स्थानीयले बताए । अमिनले मौलाना साहेब जीउमा ढलेपछि लड्न खोजेको मोटरसाइकल सम्हाल्ने क्रममा पश्चिम मोडियो त्यतिकैमा बन्दुकधारीको दुबै मोटरसाइकल अगाडी बढेको बताए । उनीहरुको हातमा पेस्तोल देखेर हल्ला गर्न थालेपछि बन्दुकधारीले पूनस् एक फायर गरेको अमिनले बताए । उनले त्यो गोली पूनस् मौलानाको दाहिने घुँडामा लाग्न गएको बताए । त्यसपछि आफू पनि डराएर मोटरसाइकल लड्यो र मौलाना साहेब भूईमा ढलेको बताए । बन्दुकधारीहरु तीब्र गतिमा दक्षिणतर्फ लागेको उनले सुनाए ।

 

दुईवटा मोटरसाइकलमा आएका बन्दुकधारीले खुर्सिदलाई ११ बजेर ३ मिनेटमा गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनास्थलबाट करिब ८ सय मिटर दुरीमा रहेको प्रहरी चौकी रामनगर भुटहाका प्रहरी सहायक निरीक्षक एसएल थारुलाई गोली प्रहार गरेको ११ मिनेटपछि फोन आएको बताए । उनले घटनास्थलमा ११ बजेर २० मिनेटमा पुगेको दावी गरे । सँगै रहेको सशस्त्र प्रहरी बेस क्याम्पको टोलीले घटना भएको १४ मिनेटपछि जानकारी पाएपछि घटनास्थल लागेको बताए ।

 

खुर्सिदलाई गोली प्रहार गरी भारतीय सीमानातर्फ भागेका बन्दुकधारीहरुलाई स्थानीयबासीले मोटरसाइकलमा पछ्याउँदै भारतीय सीमानासम्म गएका थिए । भूटहाबाट करिब १० किलोमिटर दुरीमा रहेको दशगजा क्षेत्र पुग्न केही कालोपत्रे र बाँकी खाल्डैखाल्डो भएको ग्राभेल सडक छ । दुबै मोटरसाइकलमा २र२ जना सबार बन्दुकधारीहरुले तीव्र गतिमा मोटरसाइकल कुदाउँदै भागेको स्थानीय बताउँछन् ।

 

घटनापछि स्थानीय सम्साद अन्सारीले घुस्कीमा हार्डवेयर पसल गरिरहेका आफ्ना आफ्न्त इसा अन्सारीलाई घटनाबारे जानकारी गराउँदै दुबै मोटरसाइकललाई रोक्न भन्दै फोन गरे । इसाले तत्काल प्रहरी चौकी घुस्कीका असय शिबकुमार शर्मालाई जानकारी गराएर पसलमा काम गर्नेलाई मोटरसाइकल रोक्न सडकमा उभ्याउन भ्याएको बताए ।

 

फोन काटासम्ममा दुबै मोटरसाइकल आइपुगेको उनले बताए । ‘घुस्की बजारमा मासिनहरुको चहलपहल देखेर बन्दुकधारीहरुले मोटरसाइकलको गति कम गरेकोले अगाडीको अपाचे मोटरसाइकलका चालकको गन्जी समात्नेबित्तिकै पछाडी बसेका व्यक्तिले मेरो हातमा हानेर छुटाइदियो र गति बढाएर गइहाले,’ उनले भने, ‘सय मिटरको दुरीमा तत्काल प्रहरी चौकीका जवान शिबलाल पौडेल राइफल लिएर सडकमा आइसकेको थियो ।

 

पछाडी रहेको पल्सर मोटरसाइकलमा पछाडी बसेको व्यक्तिले तत्काल प्रहरी जवानमाथि तीन फायर गरे र उनी घाइते भएर लडे ।’ त्यतिकैमा असय शर्मा पनि आइपुगेर प्राथमिक उपचार गराउन तिर लागेको उनले सुनाए ।

 

स्थानीय मुस्तुफा अन्सारीले आफ्नो बुलेट मोटरसाइकलमा बन्दुकधारीको पछि लागेको बताए । उनले बन्दुकबधारीसँगै दशगज्जासम्म गएको बताए । घुस्कीस्थित सीमा सुरक्षाका लागि ५ सय मिटर उत्तर डियूटीमा खटेका तीन जनाको सशस्त्र प्रहरीको टोलीलाई बन्दुकधारीले गाली गर्दै बाटो छोड्न भनेको प्रत्यक्षदर्शीले बताए ।आजको कान्तिपुर दैनिकबाट।