लोकतन्त्रको पक्षपोषणमा खेलेको प्रेसको भूमिका महत्वपूर्णः राष्ट्रपति भण्डारी

काठमाडौँ, असोज ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ ।

 

प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई आज राष्ट्रपति कार्यालयमा नै सम्बोधन गर्दै उहाँले लोकतन्त्रको सम्वद्र्धन र रक्षाका लागि प्रेस जगतले उल्लेखनीय योगदान गरेको बताउनुभयो ।

 

उहाँले शीघ्र सूचना सम्पेषण गर्ने चाहनामा गलत समाचार तथा सूचना सम्प्रेषण हुन सक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । ऐतिहासिक राजनीतिक परिवर्तनपछि मुलुक अहिले आर्थिक समृद्धितर्फ केन्द्रित रहेको उल्लेख गर्दै उहाँले राजनीतिक मतभेद अन्त्य भएको अवस्थामा आर्थिक विकास र जनताको जीवनस्तरको सुधार नै आजको प्रमुख दायित्व हो भन्नुभयो ।

 

उहाँले राज्यले अगाडि सारेका नीति तथा कार्यक्रमलाई मर्यादित भएर अगाडि बढाउन राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता क्षेत्रले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । इन्टरनेट र समाजिक सञ्जालको सदुपयोग गर्न आग्रह गर्दै राष्ट्रपतिले राष्ट्रले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेकाले त्यसलाई केन्द्रमा राखेर आफ्नो आचारसंहिता तथा मूल्य र मान्यतामा रहेर अग्रसर हुन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

 

मुलुकलाई सही दिशामा लैजान पत्रकारिता क्षेत्रको प्रमुख कर्तव्य रहेको भन्दै उहाँले गलत सूचना नजाओस् भनेर निरन्तर सजगता अपनाउनु पत्रकारिता क्षेत्रको पेशागत दायित्वसमेत रहेको र त्यसले पेशाको मर्यादा र सम्मानसमेत गर्ने उल्लेख गर्नुभयो ।

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले लामो समयदेखि नागरिक स्वतन्त्रताका निम्ति लडेका र लामो समयदेखि प्रेस स्वतन्त्रताको पक्षमा लागिरहेका पार्टी र सोही पार्टीको नेतृत्वमा सरकार रहेकाले प्रेस स्वतन्त्रता हनन हुन्छ कि भनेर आशङ्का नगर्न आग्रह गर्नुभयो ।

 

उहाँले भन्नुभयो, “सधैँ शङ्का मात्रै गर्ने हो भने त्यसको कुनै औषधि हुँदैन । अप्ठ्यारो केही विषयमा परेको भए त्यसलाई सच्याउन हामी तयार छौँ । नागरिक स्वतन्त्रताको पक्षमा लडेको दल र त्यसको नेतृत्व सरकारमा रहेकाले त्यसबाट प्रेस स्वतन्त्रता हनन हुन्छ र गर्छ भनेर ठान्नु नै गलत हुन्छ ।”

 

चिन्ता गर्नेभन्दा पनि चिन्तन गर्न आग्रह गर्दै उहाँले कानूनी प्रावधानका विषयमा उठेका विषयलाई स्वभाविकरुपमा सम्बोधन गरिने र त्यसलाई व्यवस्थित गरिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँखाने कथा जस्तो बह्मा, विष्णु, महेश्वर भने जस्तो पत्रकारिता क्षेत्र हुनु हुँदैन । त्यो पनि नियमनमा बस्नुपर्छ । व्यक्तिगत स्वतन्त्रता पनि हुन्छ । त्यसलाई ख्याल गर्नुपर्छ ।”

 

पत्रकारिता र सञ्चार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन पत्रकार आफँैले पनि सच्चिनुपर्ने र आफैँतिर हेर्नुपर्नेमा मन्त्री बाँस्कोटाको जोड थियो । सरकारले शुक्रबारदेखि अश्लील वेबसाइट बन्द गरेको विषयमा समेत आफूलाई जोडेर नकारात्मक टिप्पणी गरिएको उहाँले आपत्ति प्रकट गर्नुभयो ।

 

“नेपालको आफ्नै मौलिक सद्भाव, मान्यता र परम्परा रहेको छ । संसारमा कुनै पनि देश र समुदायमा अश्लीलतालाई स्वीकार गरिँदैन”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “हामीले शुक्रबार अश्लील वेबसाइट बन्द गर्न निर्देशन दियौँ । तर मलाई नै लक्षित गरेर तानासाको सरकार यस्तै हुन्छ, अब के पो गर्न बाँकी रह्यो र भन्ने जस्ता टिप्पणी गरियो । योभन्दा विकृत मानसिकताको उपज अरु केही हुन सक्छ ।

 

विगतको छापाखाना ऐनले न्यू मिडियालाई निगमन गर्न नसक्ने भएकाले नयाँ कानूनी र नीतिगत व्यवस्था गर्न लागिएको उहाँको प्रष्टोक्ति थियो । हरेक पेशाको मर्यादा हुने भन्दै उहाँले कानून, न्याय र विधिभन्दा बाहिर जाने तथा संविधान नै मान्दिन भन्ने मान्यताबाट कोही पनि निर्देशित हुन नहुनेमा जोड दिनुभयो ।

 

मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल ऐन र नयाँ प्रेस कानून तयारीको क्रममा रहेको भन्दै हाल उठेका सबै विवादलाई त्यसले हल गर्नेसमेत स्पष्ट पार्नुभयो । व्यक्तिगत स्वतन्त्रतालाई पनि ख्याल गरेर पत्रकारिता गर्न आग्रह गर्दै उहाँले सरकार र सरकारी निकायमाथि निगरानी गर्न भने छुट दिइएको बताउनुभयो ।

 

नेपालको संविधानले पूर्ण भन्ने अगाडि राखेर प्रेस स्वतन्तता उल्लेख गरेकाले त्यसमा तलमाथि हुन्छ कि भनेर सोच्नसमेत नहुने विचार व्यक्त गर्नुभयो । उहाँले कानून निर्माण प्रक्रिया पारदर्शी हुने भएकाले लुकेर बन्द कोठामा वा अध्याँरोमा बसेर कुनै पनि काम नहुने र पारदर्शीरुपमा छलफल गरेर नै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जति भ्रम उत्पन्न ग¥यो र पाल्यो भने त्यसले आफैँलाई लेखेटिरहन्छ, त्यसबाट केही पनि पाइँदैन ।”

 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पे्रस स्वतन्त्रतामा बन्देज लाग्नै नसक्ने भएकाले अनावश्यक चिन्ता लिनु नपर्ने बताउनुभयो । विद्युतीय कारोवार ऐन र गत भदौ १ गतेदेखि लागू भएको संहिताले केही डर पैदा गरेको भए पनि सरकारले त्यसकोसमेत सम्बोधन गर्न उच्चस्तरीय कार्यदल गठन गरिसकेको भन्दै उहाँले कुनै पनि बन्देज लाग्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले समयानुकूल ऐन तथा निमयको प्रबन्ध गर्नु जरुरी रहेको आवश्यकता औँल्याउनुभयो । रासस