न्यायालयलाई दबाबमा राख्‍न महाअभियोगको अस्‍‍त्र : प्रतिपक्ष दल कांग्रेस

काठमाडौं असाेज ८। न्यायपालिकालाई नियन्त्रणमा पार्न सत्तारूढ दलले महाअभियोगको गलत प्रयोग गर्न खोजेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले आरोप लगाएको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा प्रतिपक्षी दल कांग्रेसका सांसद राधेश्याम अधिकारीले बिनाकुनै आधार न्यायाधीशलाई महाअभियोग लगाउन नमिल्ने दाबी गरे।

 

न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने भनेर सादा कागजमा हस्ताक्षर संकलन गरिएको भन्ने समाचार आइरहेका छन्, यसको आधिकारिकता के हो रु महाअभियोग के आधारमा लगाउने रु उहाँलाई महाअभियोग लगाउने आधार केके हुन् रु ’, उनले सरकारलाई प्रश्न गरे।

 

अदालतले सरकारलाई सहयोग गर्नुपर्छ भन्ने कुरा सत्तारूढ दलका नेताले सार्वजनिक रूपमा बोल्नुले सरकारले न्यायलयलाई आफ्नो दबामा राख्न खाजेको प्रस्ट भएको उनको भनाइ छ। ‘संविधानलाई नमानी सरकारले गरेका निर्णयलाई समर्थन गर्दै जाने हो भने अदालत अदालत नरही पार्टीको शाखा हुन्छ’, वरिष्ठ अधिवक्तासमेत रहेका सांसद अधिकारीले भने, ‘न्यायपालिकामाथि सबैको विश्वास हुनुपर्ने र त्यसमा सरकारले झनै ठूलो विश्वास गर्नुपर्नेमा सरकार न्यायालयलाई काबुमा राख्न खोज्नु दुर्भाग्य हो।

 

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउँदा कांग्रेसले ठूलो क्षति बेहोर्नुपरेको स्मरण गराउँदै उनले सत्तारूढ दललाई त्यस्तो गल्ती नगर्न सचेत गराए। ‘अहिले राज्यलाई त फाइदा होला। तर भोलि अर्को पार्टी सत्तामा आउँदा के हुन्छ रु यसले संवैधानिक निकाय नै कमजोर बनाउँछ। सर्वोच्चलाई नै कमजोर पर्दा त्यसको असर दीर्घकालीन हुन्छ’, उनले भने।

 

हाम्रो पार्टी भेडाजस्तो होइन, जे गर्दा पनि चुपचाप सहने, विवेकहीन होइन। आइलाग्नेमाथि हाम्रो पार्टी जाइलाग्छ।

 

न्यायपालिका पनि राज्यकै अंग भएको र यो राज्यभन्दा बाहिर जान नसक्ने सत्तारूढ दलका सांसद रामनारायण बिडारीको भनाइ छ। ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनै अंगले राज्यलाई सहयोग गर्नुपर्छ। राज्यभन्दा बाहिर जान मिल्दैन’, उनले भने, ‘राज्यलाई स्वीकार गरेको हुनाले न्याय पनि छुट्टै हुन सक्दैन।’ न्यायालयमा विकृति, विसंगति रहेको दाबी गर्दै उनले न्यायप्रणालीलाई स्वतन्त्र, सफा र प्रभावकारी बनाउन प्रतिपक्षी र सरकार दुवैको दायित्व रहेको उनले बताए।

 

सांसद बिडारीले संविधान च्यात्ने, आगो लगाउने र ढुंगा हान्नेविरुद्ध नेकपा अरिंगार बन्ने दाबी गरे। प्रधानमन्त्री केपी ओलीले आलोचकविरुद्ध अरिंगाल बन्न कार्यकर्तालाई दिएको निर्देशनको चौतर्फी आलोचना भइरहेका बेला सत्तारूढ दलका सांसदले भने त्यसको बचाउ गरेका हुन्। ‘हाम्रो पार्टी भेडाजस्तो होइन, जे गर्दा पनि चुपचाप सहने, विवेकहीन होइन’, सांसद बिडारीले भने, ‘पार्टी आइलाग्नेमाथि जाइलाग्छ।’

 

संविधानको आलोचना गर्न पाइने भए पनि उल्लंघन गर्न नपाइने भन्दै उनले केही मन्त्रीहरू सुरक्षा पछाडि राखेर संविधानको विरोधमा जुलुसमा जानु आपत्तिजनक रहेको टिप्पणी गरे। सांसदहरूले सार्वजनिक यातायातको भाडा वृद्धिदेखि चाडबाडको मुखमा भएका मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले बजारमा अत्यावश्यक खाद्यवस्तुको अभाव हुन नदिन र कालाबजारीलाई नियन्त्रण गर्नसमेत सरकारलाई आग्रह गरे। आजको अन्नपूर्णपोष्टबाट ।