कोटेश्वर–जडीबुटी सडक : तिहारअघि बेलिब्रिज सञ्चालनमा

काठमाडौँ, असोज ८ । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा आउने भएको छ ।

 

उक्त स्थानमा अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण अघि बढिरहेका छन् । त्यस्तै पेप्सीकोलादेखि सल्लाघारीसम्म पनि अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा सडकको चौडाइ बढाउने कार्य बोलपत्र आह्वान भई निर्माण अघि बढिरहेको छ ।

 

राजमार्गको सवारी चाप न्यूनीकरण गर्न विभिन्न काम अघि बढे तापनि केही मात्रामा स्थानीयवासी तथा सरोकार भएका व्यक्तिले निर्माणमा अवरोध गर्ने कार्य गरिरहेका छन् । सरकारले उचित क्षतिपूर्ति नदिएसम्म निर्माण अघि बढाउन नदिने भन्दै पटक पटक आन्दोलन भइरहेका छन् ।

 

सांसद महेश बस्नेतको विशेष पहलमा सडक विभाग केन्द्रीय कार्यालय ललितपुरका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठ, पिआइडी दिवाकर ढकाल, स्थानीय जनप्रतिनिधि तथा सरोकार निकायसहितको आइतबार साँझ भएको स्थलगत निरीक्षणपछि बेलिब्रिज बनाइने बताइएको हो ।

 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विकासनिर्माणका कार्य कसैले रोक्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “काम गर्दा समस्या आउँछ, समस्या आएपश्चात् समाधानको बाटो खोज्न सरकार तयार छ । पीडित पक्ष वार्ता र छलफलमा आउनुपर्छ, अवरोध गरेर समस्या समाधान हुँदैन । सरकारको आग्रहलाई बेवास्ता गरी आन्दोलन गरे प्रशासन जवाफी कारवाही गर्दै विकास निर्माणका कार्य द्रुत गतिमा अघि बढाउँछ ।

 

निरीक्षणका क्रममा पूर्वमन्त्री बस्नेतले भन्नुभयो “कोटेश्वर–जडीबुटीमा सवारी जामका कारण लाखौँ मानिसको लामो समय बर्बाद भइरहेको छ र त्यसलाई दीर्घकालीन समस्या समाधान गर्न सुरुङमार्ग, वैकल्पिक मार्गलगायत कार्य अघि बढिरहेको छ । हनुमन्ते नदी तथा मनोहरा नदीमा स्थायी पुल निर्माणका प्रक्रियामा रहेका छन् । ती दीर्घकालीन योजना पूर्णरुपमा सञ्चालनमा नआउञ्जेल अस्थायीरुपमा बालकुमारीदेखि हनुमन्ते–मनोहरा हुँदै अरनिको राजमार्गसम्म जोड्नको लागि यो बेलिब्रिज बनाउने प्रक्रियामा अघि बढेका हौँ ।

 

विभागका महानिर्देशक श्रेष्ठले बेलिब्रिज सम्भव भएसम्म आगामी तिहारअघि नै सञ्चालनमा ल्याइने बताउनुभयो । त्यस्तै काठमाडौँ उपत्यका विकास प्राधिकरणले समेत उक्त स्थानमा सवारी चाप समस्या समाधान गर्न सडक विस्तार, खानेपानी, ढल, पुल, हवाईपुल, स्मार्ट सिटीलगायत कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको छ ।रासस