आजदेखि दशैँका लागि अग्रीम टिकट बुकिङ खुला

काठमाडौँ, असोज ९। दशैँ मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरी आज अर्थात असोज ९ देखि अग्रीम टिकट बुकिङ खुला भएको छ । भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकले असोज ५ गतेदेखि खुल्ला गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खुल्ला गर्न मानेका थिएनन् ।

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आज बसेको बैठकले सरकारले सवारी साधनको भाडा १० प्रतिशत बढाउने निर्णय गरेको भन्दै टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

 

महासङ्घका महासचिव पुन्यप्रसाद (सरोज) सिटौलाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडा दर समायोजन भएपछि भोलिदेखि टिकट बुकिङ खुलाउने निर्णय गरेको जानकारी दिनुभयो । रासस