किन बढ्दै छ एसिड आक्रमण ?

काठमाडौं असाेज ९।  बदला लिन एसिडले आक्रमण गर्ने क्रम बढेकाले यसको बिक्रीवितरणमा कडिकडाउका लागि कडा कानुनको आवश्यकता भएको विशेषज्ञहरूले औंल्याएका छन् । एसिड आक्रमणमा घाइते भएकी १५ वर्षीया सुस्मिता दास कीर्तिपुर अस्पतालमा उपचार गराउँदै ।

 

यस्तो आक्रमण विश्वमै सबभन्दा बढी आफ्नो देशमा हुन थालेपछि बंगलादेश सरकारले आक्रमणकारीलाई आजीवन कारावासको सजाय हुने कानुन ल्याएको छ साथै एसिड सजिलैसँग किन्न नपाउने व्यवस्था गर्दै बंगलादेशले यसबारे व्यापक जनचेतनाको कार्यक्रम पनि चलाउँदै आएको छ ।नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

 

एसिड सर्भाइभर फाउन्डेसन, बंगलादेशको तथ्यांकअनुसार त्यहाँ सन् १९९९ देखि २०१७ सम्ममा एसिड आक्रमणका ३ हजार ३ सय ८६ घटना भइसकेका छन् । सन् २०१८ को अगस्टसम्ममा एसिड आक्रमणका १५ घटना बंगलादेशमा भए, जो अघिल्ला वर्षहरूको आँकडामा निकै कम हो । एसिड उपलब्धतामा कडा व्यवस्था र कारबाहीका कारण नै घटनामा कमी आएको हो ।

 

नेपालमा भने यस्ता घटना बढिरहेका छन् । चिकित्सकहरूका अनुसार कानुन कमजोर हुनु, जनचेतना नहुनु र एसिड सजिलै पाइनु नै यस्ता अपराधका मूल कारण हुन् । नियमन, नियन्त्रण तथा कारबाहीमा कडाइ गर्न विलम्ब गरे नेपालमा अवस्था विगतको बंगलादेशमा जस्तै भयावह हुने संकेत देखिएका छन् ।

 

‘एसिड आक्रमण बढदै जानु अत्यन्त दुस्खद छ,’ फेक्ट नेपाल, कीर्तिपुर हस्पिटलका बर्न प्लास्टिक एन्ड रिकन्स्ट्रक्सन सर्जरी विभागका प्रमुख डा। किरण नकर्मी भन्छन्, ‘आक्रमणमा प्रयोग हुने रसायन मुख्य रूपमा सल्फयुरिक, नाइट्रिक र हाइड्रोक्लोरिक एसिड रहेको देखिएको छ ।’ यस्ता एसिड सुनचाँदी पसल र विभिन्न उद्योगमा उपयोग गरिन्छ ।

 

उसो त, नेपालमा एसिड आक्रमणका घटना अन्य मुलुकको तुलनामा नगण्य नै देखिन्छ तर कानुन र उपलब्धतामा कडाइ गर्नसके घटनाहरू नै नहुने अवस्था ल्याउन सकिने भएकाले यसमा ढिलाइ गर्न नहुने दाबी विशेषज्ञहरूको छ ।

 

एसिड आक्रमण र दुर्घटनाको संख्या नेपालमा बर्सेनि बढदै गएको तथ्यांकले देखाउँछ । सन् २०१८ यता हालसम्म कीर्तिपुर अस्पतालमा ७ जना एसिडको पोलाइमा परेर उपचार गर्न आएका छन् । त्यसमध्ये ३ महिला र एक पुरुष गरी ४ लाई कसैले प्रतिशोधपूर्वक आक्रमण गरेका थिए भने बाँकी ३ प्रयोगशालामा आफ्नै गल्तीले पोलाइमा परेको अस्पतालले जनाएको छ । एसिड पोलाइको उपचार गर्न सन् २०१४ मा त्यही अस्पतालमा १, ०१५ मा २, ०१६ मा ३ र ०१७ मा ८ जना गएका थिए ।

 

नेपालमा खास गरी प्रेम प्रकरणमा भएको खटपट, रिसइबी, प्रतिशोध र बन्दका बेलामा समेत एसिड आक्रमण हुने गरेको देखिएको डा। नकर्मीले बताए ।‘करिब ५ वर्षअघि बन्दको बेला दुई चेलीलाई बसको झयालमा एसिड प्रहारपछि घाइते भएको घटनासमेत छ,’ उनले भने । त्यस्तै, कहिलेकाहीँ बलजफती एसिड खुवाउने घटनासमेत देखिएको छ ।आजको कान्तिपुर दैनिकबाट ।