न्यायमुर्ति नै दण्डित

काठमाडौं असाेज १०। बिभिन्न अदालतमा कार्यरत रहदा समयमा सम्पति बिवरण नबुझाएर जरिवानामा परेका २५ जना न्यायाधीशहरुले सम्पत्ति बिबरण न्याय परिषद्मा पेश गरेका छन् ।

 

ती न्यायाधीशहरुले जरिवाना रकम सहित सम्पत्ति विवरण पेश गरेको न्याय परिषद् सचिवालयका प्रवक्ता रामेश्वर रेग्मीले जानकारी दिनुभयो । ५ हजार रुपियाँका दरले २५ जना न्यायाधीशबाट १ लाख २५ हजार रुपियाँ राजश्वमा जम्मा भएको पनि परिषदले जनाएको छ । सम्पति बिवरण बुभाmउन अटेर गर्ने न्यायाधीशहरुको नाम भने खुलाइएको छैन ।

 

यता तीन सय ९६ न्यायाधीशहरुले भने तोकिएको समयमै सम्पत्ति बिबरण न्याय परिषद्मा बुझाएका छन् । परिषद् सचिवालले गत २०७५ असार २५ गते सार्वजनिक सूचना जारी गरी भदौ २९ भित्र न्यायपरिषद् सचिवालयमा सम्पत्ति बिबरण बुझाउन निर्देशन दिएको थियो ।

 

सम्पति बिवरण बुझाउन आलटाल गरेका कारण जरिवाना तिरेपछि सवै न्यायाधीशको सम्पत्ति बिबरण जम्मा भएकाले अभिलेख तयार अन्तिम चरणमा पुगेको न्याय परिषद्का प्रवक्ता रेग्मीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

 

प्रत्येक वर्ष न्यायाधीशले आफ्नो सम्पत्ति विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था न्यायपरिषद् ऐनमा छ । न्याय परिषद् ऐन २०७३ को धारा २९ मा भनिएको छ– ‘न्यायाधीशले आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र तोकिए बमोजिमको ढाँचामा न्यायपरिषद् समक्ष पेश गर्नु पर्नेछ ।

 

यता मुलुकभारका बिभिन्न अदालतमा खाली रहेका २१ न्यायाधीशको दरवन्दी पुर्ति हुन सकेको छैन । सर्वोच्च अदालतमा २, उच्च अदालतमा १३ र जिल्ला अदालतमा ६ न्यायाधीशको दरबन्दी रिक्त भएको न्याय परिषद्ले जनाएको छ । न्यायाधीश पद रिक्त हुँदा न्याय सम्पादनमा कठिनाई उत्पन्न भएको परिषदले जनाएको छ ।

 

न्याय परिषद्का प्रवक्ता रामेश्वर रेग्मीका अनुसार यथाशीघ्र न्यायाधीशको पदपुर्ति गर्ने कार्य अघि बढाइने छ । न्याय परिषद्का प्रवक्ता रेग्मीले नेपाल समाचारपत्रसंग भन्नुभयो–‘२१ जना न्यायाधीशको पद खाली छ । ’ हाल सर्वोच्च अदालतमा १९, उच्च अदालतमा एक सय ४७ र जिल्ला अदालतमा २ सय ३२ जना न्यायाधीशहरुले न्यायसम्पादन गरिरहेको परिषद्ले जनाएको छ । यो खबर आजको समाचारपत्रमा छ ।