उपत्यकाका विभिन्न ठाँउमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौँ,असोज १०। नेपालीको महान् चाड दशैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको सुविधालाई मध्यनजर गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

 

दशैँ मान्न उपत्यकाबाट झण्डै २५ लाख मानिस बाहिरिने हुँदा यात्रुको सहायताका लागि उक्त कक्ष स्थापना गरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, नयाँ बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले स्थापना गरिएको सहायता कक्षमा अपराध, दुव्र्यवहार, यात्रुले भोग्नुपरेका समस्या राख्न सकिने बताउनुभयो । सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, ट्राफिक प्रहरी र जनपद प्रहरीका कर्मचारीहरु रहनेछन् ।

अनाथ बालबालिकालाई भोजन

नेपाल गृर्हस्थ धर्म सेवा सदनले अनाथ तथा असाहय बालबालिकालाई भोजन तथा प्रसाद वितरण गरेको छ । सदनले सोह्रश्राद्ध, दिवङ्गत पितृ तथा मातृशक्तिको स्मृतिमा सामाखुशीमा ५० बालबालिकालाई प्रसाद तथा भोजन वितरण गरेको हो ।

 

कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जीवनलाई सार्थक बनाउन गृहस्थ धर्मले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । “असल गृहस्थी भए समाज र राष्ट्र समृद्ध हुन्छ,”–उहाँले भन्नुभयो । नेता केसीले पितृ ऋण, सन्तान ऋण र राष्ट्र ऋण पूरा गर्न सके जीवनको सार्थकता पूरा हुने उल्लेख गर्नुभयो ।

 

काठमाडौँ क्षेत्र नं ६ का सांसद एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले मानव सेवा गर्नु नै धर्म भएको बताउनुभयो । “मन्दिरमा गएर मात्र धर्म मिल्दैन, दिन दुःखी, असाहय, गरीबको सेवा गर्नु धर्म हो,” उहाँले भन्नुभयो । काठमाडौँ महानगरपालिका–२६ का वडा अध्यक्ष ख्यामराज तिवारीले गरीब, दुःखी र असाहयका लागि वडाले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो ।

 

एक दशक पहिले स्थापना भएको सदनले गरीब, दुःखी, वृद्धवृद्धालाई सहयोग तथा सामाजिक काम गर्दै आइरहको सदनका अध्यक्ष तुलसीराम पोखरेलले जानकारी दिनुभयो ।रासस,