महिला बेचबिखनको आरोपमा एकजना पक्राउ,दुई फरार

बैतडी, असोज १० । मानब बेचबिखनको आरोपमा बैतडी प्रहरीले बुधबार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ गाँजरीकी २५ वर्षीय देवकी ढाँट रहेकाे इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिए । उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

 

पक्राउ परेकी महिला ढाँटमाथि गत असारमा बैतडीको सिगासकी २८ बर्षीया एक महिलालाई बिहे गर्छु भनी ललाई फकाई भारतको बैङ्गलोर पुर्याई बेचविखन गर्न खोजेको आरोप लागेको छ । यसअघि मंगलबार प्रहरीले सोही घटनामा संलग्न डडेल्धुरा आलिताल गाउँपालिका ८ सिस्नेका ४५ बर्षीय गणेश विष्टलाई पक्राउ गरि मानव बेचबिखन तथा ओसारपोसार सम्वन्धी मुद्धा दर्ता गरिसकेकोे छ ।

 

पक्राउ परेकी महिलालाई बेच्न लगीएकी महिलालाई भारत लैजान फोन सम्पर्क गराईएको आरोप रहेको छ । यसअघि पिडीत महिलाको सोमवार गरेको उजुरीको आधारमा प्रहरीले उनीहरुको खोजी कार्य गरेको थिायो ।

 

मानव बेचबिखनको आरोप लागेका डडेल्धुरा आलिताल ८ का ५० वर्षीय शंकर अवस्थी र २८ वर्षीय ललित विक अझै फरार रहेका छन् । पिडित महिलालाई उनका आफन्तले भारतवाट उद्धार गरी केही दिन अगाडी मात्रै यहाँ ल्याएका थिए ।