दशौंकाे मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि आकासियो

काठमाडौँ,असोज ११ । नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको भन्दै त्यसको नियन्त्रण गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।

 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरुले चाडबाडको मुखमा मूल्य वृद्धि नगर्न आग्रह गर्नुभएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चिनीको भाउ वृद्धि, बजार अनुगमनमा देखिएको कमजोरी, सहुलियत पसल सञ्चालन र कालोबजारीका कारणबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

सांसद रामवीर मानन्धरले जनतालाई प्रत्यक्ष अनुभूति हुने खालको काम गर्न सरकारलाई सुझाव दिनुभयो । सांसद देवेन्द्र पौडेलले दैनिक उपभोग्य वस्तुमा किन र कसरी मूल्य बढाइयो भन्नेबारे जनतालाई जानकारी दिनुपर्ने बताउनुभयो । सांसदहरु गोपालबहादुर बम, अमृतादेवी अग्रहरि, सरिता न्यौपाने, दुर्गाकुमारी विश्वकर्मालगायतले चाडबाडको समयमा कालोबजारी हुने गरेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ भन्नुभयो ।

 

सांसदहरुले राखेको जिज्ञासाको उत्तर दिँदै उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मात्रीका यादवले चाडबाडको समयमा जनतालाई राहत दिने कुरामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले बजार अनुगमन गर्दै सहुलियत पसल सञ्चालन र कालोबजारी नियन्त्रण गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो । मन्त्री यादवले दशैँको मुखमा चिनी, तेल, खाद्यान्न नबढाउनका लागि छलफल गर्न समिति गठन गरिएको स्पष्ट पार्नुभयो ।

 

मन्त्रालयका सचिव चन्द्र घिमिरेले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढेको बताउनुभयो । उपभोक्ता हित तथा आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचनले दशैँका लागि असोज १२ देखि २७ गतेसम्म सहुलियत पसल सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । रासस