लागूऔषधसहित तीन महीनामा २७ पक्राउ

दमौली, असोज ११ । चालु आर्थिक वर्षको तीन महीनाको अवधिमा तनहुँ प्रहरीले २७ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
गत साउनदेखि असोज १० गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ६८८ थान लागूऔषध र दुई हजार २३० ग्राम गाँजासहित २७ लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

साउनमा १२, भदौमा १२ र असोज महीनामा तीन जना लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

 

हालै ल्याइएको दुई कुकुरको सहयोगमा बुधबार यात्रुवाहक बसमा लागूऔषध ओसारपोसार गर्ने युवा पक्राउ परेका छन् ।नवलपरासी बुम्दीकाली गाउँपालिका–१ घर भई हाल पोखरा महानगरपालिका–४ सिद्धार्थचोक बस्ने २० वर्षीय पारस सार्की पक्राउ परेका हुन् ।

 

पोखराबाट ल्याइएको सीमा र चेरी नाम गरेका कुकुरको सहयोगमा प्रहरीले बुधबार राति पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा ना१ख ३६७९ नं को धादिङबाट पोखरा जाँदै गरेको यात्रुवाहक बसमा सवार सार्कीलाई तीन किलो गाँजासहित पक्राउ गरिएको हो ।
पक्राउ परेका सार्कीविरुद्ध अनुसन्धान भइरहेको छ ।रासस