चर्काए उखु किसानले आन्दोलन४५ करोड भुक्तानी बाँकी

    शाेभा जी.सि.

नवलपरासी,असोज १२। नवलपरासीका उखु किसानहरुले आन्दोलन चर्काएका छन्। आफूहरुले चिनी विक्री वापत चिनी मिलबाट पाउनु पर्ने ४५ करोड भुक्तानी नपाएको भन्दै उनीहरुले शुक्रबार बर्दघाटमा दुई घण्टा सडक अवरुद्ध पारेका थिए ।

 

अनिश्चितकालिन बन्द भनेर सडकमा उत्रिएका किसानहरुलाई पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, प्रहरी उपरीक्षक राजेन्द्र भट्ट लगायतका टोली आएर आइतबारदेखि भुक्तान प्रक्रिया शुरु नगरे चिनी उद्योग सञ्चालकहरुलाई कारवाहीको दायरामा ल्याउन जनाएपछि बाटो खोलिदिएका हुन् ।

 

छलफलमा किसानहरुको तर्फबाट उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादव, पूर्व सभासद् देवकरण कलवालर विक्रम खनाल लगायतका सहभागिता रहेको थियो ।

 

किसानहरुले आइतबारबाट भुक्तान नपाए सोमबारबाट पुन सडकमा उत्रने चेतावनी दिएका छ। उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवले आफूहरुसंग प्रमुख जिल्ला अधिकारीले गर्नुभएको प्रतिवद्धता अनुसार भुक्तान शुरु नभए सोमबारदेखि पुन सडकमा उत्रने चेतावनी दिए ।

 

पश्चिम नवलपरासीमा उखु उत्पादनका लागि राम्रो क्षेत्र मानिन्छ तर, चिनी मिल सञ्चालकहरुले पटक पटक बेलैमा रकम भुक्तान नगर्दा किसानहरु उखु खेती छाडेर केरा खेती, सूर्ती खेतीतर्फ आकर्षित हुन थालेका छन्।