प्रदेश नम्बर सातको राजधानी ’गोदावरी’ र नाम ’सुदूरपश्चिम’ बहुमतले पारित


धनगढी असाेज १२। सात नम्बर प्रदेशको राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने प्रस्ताव बहुमतले पारित भएको छ । शुक्रवार बसेको पहिलो संसद बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अबरुद्ध गरेपछि दोस्रो पटक बैठक बसेको थियो ।

संसद बैठकमा सहभागी ३८ जना सत्तापक्षी सांसदहरुले प्रस्तावको पक्षमा मतदान गरेपछि प्रदेश सातको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ कायम भएको प्रदेश सांसद चुनुकुमारी चौधरीले जानकारी दिईन । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता तारालामा तामाङले राजधानी गोदावरी २ तेघरी र नाम सुदूरपश्चिम कायम गरियोस् भन्ने प्रस्तावलाई प्रदेशसभाले बहुमतले स्वीकृत गरको हो ।

 

फरक धारणा राख्दै आएको नेपाली कांग्रेसले सो माग संसदबाट पास नहुने देखिएपछि सांसदहरुले बैठक शुरु भए लगत्तै आफ्नो धारणा राखेर सभाहलबाट बाहिरिएका थिए । तटस्थ बसेको राष्ट्रिय जनता पार्टीका सांसदहरु पनि कांग्रेस संसद संगै बाहिरिएका थिए ।

 

बैठकमा प्रदेशको राजधानी र नामको प्रस्तावमाथी बहस तथा छलफल भएपछि मतदान भएको थियो । सचेतक लामाको प्रस्तावलाई सांसद विरमान चौधरी र शान्ति नेपालीले समर्थन गरेकी थिईन् ।