जुम्लाबासी चार घण्टा पैदल हिँडेर पनि उपचार पाउँदैनन्

जुम्ला  असाेज १३।  जुम्ला जिल्ला अझै पनि मानिस बिरामी पर्दा स्ट्रेचरको विकल्प हटेको छैन । भौगोलिक रूपमा विकट भएका कारण यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा नसक्नुका साथै बिरामीलाई स्टे«चरमै बोकेर स्वास्थ्य संस्थामा पु¥याउने र ल्याउने गर्दै आएका छन् ।

ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मी कार्यालय समयसम्म नबस्ने समस्या नौलो होइन, १ देखि ४ घण्टा पैदल हिँडेर स्वास्थ्य संस्था पुग्दासमेत यहाँका बासिन्दालाई उपचार पाउन कठिन भएको छ ।

 

पातारासी गाउँपालिका तल्लो लोर्प गाउँका कर्ण बोहोराकी छोरी अघिल्लो महिना बिरामी परिन् पहिरोले सडक अवरुद्ध हुँदा एम्बुलेन्स सञ्चालन नभएपछि स्ट्रेचर मै स्वास्थ्य चौकी उर्थु चौतारामा पु¥याउन उहाँ बाध्य हुनुभयो । दुई दिनको उपचारपछि स्ट्रेचरमै हिलाम्मे बाटो छिचोल्दै पुनः घर ल्याउनु परेको थियो ।

 

स्थानीय तहले थुप्रो रकम खर्च गरी डोजर लगाएर सडक खने पनि स्ट्रेचरको विकल्प नहटेको यहाँका बासिन्दाको गुनासो छ । लाखौँ खर्च गरेर ल्याएको एम्बुलेन्सले यहाँका बासिन्दाकोे समस्या टार्न नसकेको गुनासो गर्दै स्थानीयवासी पूर्णबहादुर बुढाले भने, “कोही बिरामी पर्दा गाउँका युवा गुहार्नु पर्छ तर अधिकांश युवा कामका लागि विदेश र पढ्नका लागि जिल्ला बाहिर गएका कारण गाउँमा उनीहरूको उपस्थिति पातलो छ ।”

 

उक्त गाउँपालिकालाई भारतीय दूतावासले उपलब्ध गराएको एम्बुलेन्स अहिले प्रयोगविहीन अवस्थामा छ । बिरामी मात्रै होइन दैनिक उपभोग्य वस्तु आयात गर्न पनि खच्चड प्रयोग गर्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ ।

 

पातारासी गाउँपालिकाले भौतिक पूर्वाधारमा गत आर्थिक वर्षमा करोडौँ रकम खर्च गरिसकेको छ । उर्थुदेखि पेरेसम्मको सडकका लागि छुट्याइएको २५ लाख बजेटमा २३ लाख खर्च भइसकेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मी बोहोराका अनुसार वर्षाद्को पहिरोले सडक लथालिङ्ग बनायो, अहिले सवारी साधन बन्द छन् ।