नजिकिँदै दसैं : टिकट काउन्टरमा ‘सुराकी प्रहरी’


काठमाडौं असाेज १४।ट्राफिक प्रहरीले दसैं तिहारलाई लक्षित गर्दै भीडभाड हुने क्षेत्र र यातायात कम्पनीका टिकट काउन्टरहरूको गोप्य निगरानीका लागि सादा पोसाकमा ट्राफिक प्रहरी खटाउने तयारी गरेको छ ।

उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको ट्राफिक प्रहरी महाशाखाले भीडभाड हुने स्थल र टिकट काउन्टरमा हुन सक्ने ठगी एवं आपराधिक क्रियाकलाप नियन्त्रण गर्न भन्दै सादा पोसाकका प्रहरी परिचालन गर्ने तयारी गरेको हो ।

 

यात्रुलाई ठग्ने, एउटै व्यक्तिले धेरैवटा सिटको टिकट बेच्ने, तोकिएको मूल्यभन्दा बढी रकममा टिकट बिक्री गर्नेजस्ता गुनासाहरू प्रत्येक वर्ष आउने गरेकाले त्यस्ता घटना हुन नदिन सादा पोसाकका प्रहरी खटाइने र उनीहरुले भीडभाड हुने स्थल र काउन्टरमा भइरहेको गतिविधिबारे सूक्ष्म निगरानी गर्ने ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले यात्रुलाई सहज रूपमा यात्रा गर्ने वातावरण बनाउन र ठगिनबाट जोगाउन प्रत्येक वर्ष चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्दै आएको छ ।

 

नजिकिँदो दसैंका लागि मात्रै उपत्यकामा १ हजार ४५० ट्राफिक प्रहरी पोसाकमा र १५० को संख्यामा सादा पोसाकका ट्राफिक प्रहरी परिचालन गर्ने तयारी भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० वसन्त पन्तले जानकारी दिए । ‘उपत्यकामा १ हजार ४५० ट्राफिकहरू पोसाकमा खट्नेछन्, यस्तै १५० प्रहरी सादा पोसाकमा खटाउने तयारी भएको छ, केहीलाई नागरिक सहायता कक्षमा परिचालन गरिसकेका छौं,’ महाशाखा प्रमुख पन्तले राजधानीसँग भने ।

 

ट्राफिक प्रहरीले उपत्यका भित्रिने तथा बाहिरिने विभिन्न नाकामा स्पेसल अफिसरको कमान्डमा दिउँसो र राति विशेष चेकजाँचसमेत गर्ने व्यवस्था मिलाएको छ । चाडवाडका बेला सडक दुर्घटना बढी हुने गरेकाले त्यसको नियन्त्रणका लागि र सवारी चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेकाले सोको समेत चेकजाँचका लागि दिउँसो र राति दुवै समयमा स्पेसल अफिसरको कमान्डमा सुरक्षा चेकजाँच टोली खटाइने ट्राफिक प्रहरी महाशाखाले जनाएको हो ।

 

दसैं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरिसकेको छ । राजधानीको कलंकी, स्वयम्भू, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

 

सहायता कक्षमा अपराध एवं दुव्र्यवहार तथा ट्राफिकसम्बन्धी गुनासाहरू राख्न सकिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सो सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, ट्राफिक र जनपद प्रहरीका कर्मचारीहरु पनि रहनेछन् ।

 

सहायता कक्षमा र टिकट काउन्टरमा ट्राफिक प्रहरीले विभिन्न स्थानमा जानका लागि पर्ने भाडाको दर रेट देखिने गरी राख्ने व्यवस्थासमेत गरेको छ । यसैगरी, नागढुंगा खडकखण्डमा हुने जाम र ठूला मालवाहक सवारी बिग्रेर घण्टौंसम्म हुने अवरोधका लागि समेत आवश्यक तयारी गरिएको ट्राफिक प्रहरीले जनाएको छ । आजको राजधानीबाट।