आज नवरात्रको सातौं दिन कालरात्री तथा फूलपाती भित्र्याइँदैछ धुमधामका साथ मनाइदै

काठमाडौं, असोज ३० । हिन्दु नेपालीहरुको महान् चाड बडा दशैंको परम्परा अनुसार आज देशभर नेपालीहरुका घरघर, शक्तिपीठ र दशैं घरहरुमा धुमधामका साथ फूलपाती भित्र्याइँदैछ।शक्तिस्वरुपा देवी कालरात्री भगवतीको पूजा आराधनाका लागि देशभरका शक्तिपीठहरुमा भक्तजनको विहानैदेखि घुईंचो लागेको छ ।

 

कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि हुन् । उनको टाउकाको झाँक्रो फिजाएको जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह झल्कने माला छ । श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ । माता कालरात्रिको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन् ।

 

यसैले यी देवीको एक नाम ‘शङ्करी’ पनि रहेको छ । देवी कालरात्रि दुर्जनहरूको उछित्व गर्ने हुनुहुन्छ । यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छ दसैँघरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, फलफूल तथा अरु नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ ।

 

आजै गोरखाबाट ल्याइएको फूलपाती धादिङको जीवनपुरबाट पूजारीसहित बाहुन, मगर र नेवार जाति ८ जनाले काठमाण्डौंको जमलसम्म ल्याई पर्सेर हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक भित्र्याउने परम्परा छ । सप्तमीका दिन हर्षोल्लासका साथ फूलपाती भित्रयाउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र साँस्कृतिक नाचगान सहितको लावालस्कर हनुमानढोकाबाट जमल जाने चलन रहिआएको छ ।

 

फूलपातीको अवसरमा नेपाली सेनाले काठमाडौंको टुंडिखेलमा फूलपाती हर्षबढाईं तथा निशान प्रदान कवाज समारोह आयोजना गरेको छ । हर्षबढाईं समारोह अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संविधानसभा अध्यक्षलगायत विशिष्ठ अतिथि महानुभावहन सैनिकमञ्च टुँडिखेल जानुहुने कार्यक्रम रहेको छ ।

 

घटस्थापनाका दिनदेखि दशैं शुरुहुने भए पनि दसैँको विशेष चहलपहल भने फूलपातीकै दिनदेखि शुरु हुन्छ । आजदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसाय लगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्तिहरू सपरिवार बसेर दुर्गा भवानीको टीका थाप्न आ९आफ्नो घर फर्किने क्रम पनि तीव्र भएको छ ।