आज महाअष्टमी,महागौरीको पूजा आराधना र शक्तिपीठहरुमा बलि चढाइँ,देशै भर धुमधामका साथ मनाइँदै

काठमाडौं ,असोज ३१ । नवरात्रको आठौं दिनआज बुधबार महागौरी देवीको पूजा–आराधना गरिँदै छ। महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो। अघिल्लो दिन आराधना गरिने कालरात्रिको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन्। शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ। साँढेमा बसेकी यिनले एक हातमा त्रिशुल र अर्को हातमा डमरु लिएकी छिन्।

 

अरु दुई हातले अभय र शान्त मुद्रा प्रदर्शन गरेकी छिन्। देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ। यो दिन मध्यरातमा दशैंघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ। आफ्ना परम्परामा ग्राह्य पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ। अष्टमीदेखि शक्तिपीठमा हुने घुइँचोसमेत बढ्छ। महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ। भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ।

 

 

आजका दिन दसैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । काठमाण्डु उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङकटा, बज्रबाराहीलगायतका मन्दिरमा बलि चढाउने र पूजा आराधना गर्नेको बिहानैदेखि घुइँचो लागेको छ ।

 

राजधानीबाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतका मन्दिरमा शक्तिस्वरुपा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ ।

आज दसैंघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रुपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।पशुबली नचढाउनेले आजका दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्छन् । हनुमानढोकाको दसैं घरमा आज मध्यरातमा शक्ति रुपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ रांगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।

 

यसपाली नवमी र अष्टमी एकै दिन परेकाले माताता सिद्धिदात्रीको पनि पूजाआजा गरिंदै छ । सिद्धिदातृ मातालाई विजय र दानकी प्रतीक मानिएको छ
भगवान शंकरले माता सिद्धिदातृको पूजाआराधना गरी आफ्नो शरीरको देब्रेपट्टि देवीलाई उत्पन्न प्रार्थना गरी अर्धनारीश्वर बन्न सफल भएको शास्त्रहरुमा उल्लेख छ ।
आज काठमाडौंको हनुमानढोका परिसरमा रहेको तलुेजु भवानीको मन्दिरमा विशेष पूजाआजा गरिन्छ । यो मन्दिर दशैंको नवमीका दिन वर्षको एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।