ला लिगामा बार्सिलोनाको शानदार जित, मेसीलाई चोट


एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४–२ ले पराजित गरेको छ। बार्सिलोनाले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो। कप्तान लिओनल मेसीको पासमा फिलिप कोउटिन्होले सुरुवाती गोल गरे।

१२ औं मिनेटमा कप्तान मेसीले नै अग्रता दोब्बर पारे। पहिलो हाफमा केहि थप अवसर सिर्जना गरेपनि बार्सिलोना अग्रता बढाउन असफल रह्यो । खेलको २६ औं मिनेटमा बार्सिलोनालाई धक्का लाग्यो। फ्रान्को भाज्केज र लिओनेल मेसी बलको लागि जुध्दा लड्ने क्रममा मेसीको काँधमा चोट लाग्यो।

 

दोस्रो हाफको ६३ औं मिनेटमा पेनाल्टीद्धारा लुइस सुआरेजले बार्सिलोनालाई ३–० ले अगाडी पुर्याए। ७९ औं मिनेटमा पाब्लो सराबियाले सेभिल्लाक लागि गोल फर्काए। इभान राकीटिचको सान्दार भलिले ८८ औं मिनेटमा गोल गर्दै पुन ३ गोलको अग्रता कायम गरे ।

 

अन्तिम मिनेटमा सेभिल्लाका लुइस मुरिएलले गोल गर्दै खेल ४–२ को स्थितिमा ल्याए। यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । बार्सिलोनाले ९ खेलमा १८ अंक जोडेको छ। दोस्रो स्थानको अलाभेसले ९ खेलमा १७ अंक तथा तेस्रो र चौथो स्थानका सेभिल्ला र एटलेटिको म्याड्रिड समान १६ अंकमा छन्। रियल म्याड्रिड १४ अंकसहित पांचौ स्थानमा छ।