अछामको जयगढ बजारबाट १४ जुवाडे पक्राउ, ६० हजार बरामद

अछाम, कात्तिक ६ । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा जुवातास खेलिरहेको अवस्थामा सोमबार बेलुकी १४ जना पक्राउ परेका छन् ।जयगढको रोडबजार नजिक रहेको एक कोल्ड स्टोरमा जुवातास खेलिरहेका राजनीतिक दलका नेता, शिक्षकदेखि गाउँका अगुवासम्म पक्राउ परेका हुन् ।

 

पक्राउ परेकाबाट ६० हजार चारसय ४० नगद रुपैयाँ, ६ प्याकेट तास, तीन थान कापीसमेत बरामद गरिएको अछाम प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका सबैलाई जयगढबाट सदरमुकाम मंगलसेनमा रहेको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरुका बारेमा थप अनुसन्धान गरी कानुनी कार्वाही गरिने डीएसपी शाहीको भनाइ छ।

 

हालै लागू भएको अपराध संहितामा जुवातास खेल्ने र खेलाउनेलाई तीन महिना कैद र तीन हजार जरिवाना हुने व्यवस्था छ ।

 

जयगढ बजारमा जुवातास खेल्ने र खेलाउने क्रम बढ्न थालेको भन्दै केही स्थानीयले चर्को गुनासो गरेपछि प्रहरी निरीक्षक टेकबहादुर रावत नेतृत्वको टोली मंगलसेनबाट त्यसतर्फ गएको थियो ।