नेपालको राजनीतिक उपलब्धिलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तारित गर्नुपर्नेमा जोड

काठमाडौँ, असोज १५ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा ,का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिक उपलब्धिलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तारित गर्नुपर्नेमा जोड दिएका छन् ।

 

जनवादी गणतन्त्र चीनको ६९औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रवक्ता श्रेष्ठले राजनीतिक उपलब्धिलाई आत्मसात् गर्दै सामाजिक न्यायसहितको समृद्धि आजको आश्यकता भएको औँल्याए ।

 

उनले चिनियाँ कम्युनिष्ट आन्दोलनबाट शिक्षा लिँदै नेपालमा नयाँ वैचारिक अभियान अगाडि बढाउनुपर्ने बताउँदै भने, “राजनीतिक हिसाबले भन्ने हो भने नेपाली कम्युनिष्ट आन्दोलनले गर्व गर्ने अवस्था छ तर वैचारिक अभियान जरुरी छ ।” दिनदिनै खाडी मुलुकमा जाने युवालाई आफ्नै माटामा श्रम गर्ने वातावरण सिर्जना गर्नु कम्युनिष्ट सरकारको अभिभारा भएको नेता श्रेष्ठको भनाइ थियो ।

 

नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको हितमा रहेर विकास र समृद्धिका निम्ति चीनले सक्दो सहयोग गर्दै आएको उनले स्मरण गरे । साम्राज्यवादीको घेराबन्दीबाट माथि उठेर चीन विश्वकै शक्तिशाली राष्ट्र बन्न सफल भएको उनको भनाइ थियो ।

 

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलनको विकासमा चिनियाँ कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण योगदान रहेको जिकिर गरे ।
कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले चिनियाँ कम्युनिष्ट आन्दोलनले विश्वको शक्ति सन्तुलनमा परिवर्तन ल्याएको र त्यसले चिनियाँ जनताका लागि मात्रै नभई बाह्य हस्तक्षेप रोकेर समृद्ध नेपाल बनाउने अभियानमा थप सहयोग गरेको बताए ।

 

समाजवादी मञ्च नेपालका अध्यक्ष नरेन्द्रजङ्ग पिटरले चीनले आफ्ना लागि आफैँ लड्नुपर्छ भन्ने सन्देश दिएको छ भने । जनवादी गायक जीवन शर्माले आजको दिन चीनका लागि मात्रै नभई नेपालका लागि समेत महत्वपूर्ण दिन भएको बताए । लेफ्ट रिभ्यु अनलाइनका निर्देशक तथा सम्पादक नहेन्द्र खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो । रासस