काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भयो

काठमाडौं,असोज १६  । काठमाडौंंस्थित नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन कसिलो बनाउन सके पछिल्ला दिन जटिल बन्दै गएको देखिएको आकाशमै जहाज रोक्नुपर्ने हवाई ट्राफिकको चाप न्यून गर्न सकिने विज्ञहरूले औँल्याएका छन्।साँघुरो विमानस्थल समस्याको मुख्य कारण रहेको अधिकारीहरूको भनाइ छ।

तर उपलब्ध स्थानलाई व्यवस्थापनमा ध्यान दिनुपर्ने मत राख्ने विज्ञहरू समस्या देखिन थालेको केही वर्ष भइसक्दा समेत पूर्वाधार र योजना नबनाउनुलाई हवाई सुरक्षा र नेपालको उड्डयन व्यवस्थापनको प्रतिष्ठासँग जोड्दै चिन्ता व्यक्त गर्छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार सबेरै शान्ति सेना लिन आएको इथियोपियन एयरलाइन्सले झण्डै डेढ घण्टा आकाशमै होल्डु गर्नुपर्दा इन्धन सकिन लागेर आपत्‌काल घोषणा गर्नुपर्‍यो भने केही आन्तरिक विमानहरू समेत एक घण्टाभन्दा बढी समय अवतरणको प्रतीक्षा गरेर आकासमै रोकिए।
मौसमी जटिलताका कारण मध्यान्ह अगावै लुक्ला जस्ता पर्यटकीय गन्तव्यमा उडान गर्नुपर्ने अवस्था छ भने सोही समयमा अन्तर्राष्ट्रिय उडान छन्।

एउटा मात्र धावनमार्ग रहेको विमानस्थलमा पार्किङ्स्थलसँग जोड्ने ट्याक्सी वे समेत छोटो हुँदा एउटा जहाजले लामो समय धावनमार्ग ओगट्ने गरेको विमानस्थल अधिकारीहरू बताउँछन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री भन्छन्, झण्डै तीन हजार मिटर लामो धावनमार्गको करिब १४ सय मिटरपछि मात्र ट्याक्सी वे छ र त्यो अर्को कुनासम्म छैन। जसका कारण अहिले धावनमार्गमा विमानले धेरै समय लिइरहेका छन्। यसलाई घटाउन अब धावनमार्ग जत्तिकै लामो ट्याक्सी वे निर्माण गरिंदैछ।

उड्डयन अधिकारीहरूका अनुसार विगत पाँच वर्षमा काठमाण्डू विमानस्थलमा एक चौथाइभन्दा बढी हवाई चाप बढेको छ।विमानस्थलको अभिलेख अनुसार गत वर्ष एकैदिन ५२५ उडान अवतरण भएको पाइएको छ, जुन अहिलेसम्मको उच्च हो। यात्रु चाप हुने शरद यामको शुरूवातमै यो वर्ष समेत एकैदिन ४३० उडान र अवतरण भएका छन्।

विमानस्थल खुला हुने समय दैनिक साढे १८ घण्टाबाट २१ घन्टा पुर्‍याउँदा समेत उडान तालिकाको व्यवस्थापन गर्न सकिएको छैन।
एकजना पूर्व वरिष्ठ एयर ट्राफिक कन्ट्रोलर बिमलेश लाल कर्ण भन्छन्, ूएक घण्टामा कति उडान गर्न सकिन्छ भन्ने निर्क्यौल गरेर तालिकाहरू निर्माण गर्न आवश्यक छ। ढिलो हुनसक्ने उडानहरू रातमा गर्नुपर्छ।
अहिले एकपटकमा नौवटा मात्र अन्तर्राष्ट्रिय विमान अटाउने काठमाण्डू विमानस्थलको क्षमता छ। आन्तरिक उडानतर्फ समेत जहाजको पार्किङ क्षमता नाघिसकेको छ।

काठमाण्डू उपत्यकाको भौगोलिक अवस्थाले गर्दा आकाशमा दुईवटा विमानबीचको दूरी समथर भूअवस्थितिमा भन्दा बढी झण्डै १२ किलोमिटर हुनुपर्छ।
आकाशमै धेरैबेर घुमिरहनुपर्दा सिर्जना हुने समस्याबारे यति एयरलाइन्सकी एकजना पाइलट लुना प्रधान भन्छिन्, ूधेरैबेर आकासमा रोकिनुपर्दा यात्रुहरू आतिन्छन्, हामी नै पनि इन्धन सकिएला कि, अन्यत्र मोड्नुपर्ने हो कि भन्ने जस्ता कुराले तनावमा हुन्छौं।ूविमानस्थलको पार्किङ क्षमता बढाउने, प्रविधि स्तरोन्नति गर्नेदेखि नजिकै बनेपामा आन्तरिक उडानको लागि नयाँ विमानस्थल बनाउने कुरा उठ्ने गरे पनि ती कामले गति लिन सकेको देखिन्न।

एकजना अवकासप्राप्त वरिष्ठ एयर ट्राफिक कन्ट्रोलर नारायणबहादुर सिंह डंगोल भन्छन्, ूबनेपामा निर्माण गरिने चर्चा चलेको विमानस्थलले काठमाण्डूको एयर ट्राफिक समस्या भने निराकरण गर्छ जस्तो लाग्दैन किनकि काठमाण्डू विमानस्थलबाट पूर्वतर्फ उडान गर्ने विमानले समेत त्यही बाटो प्रयोग गर्छन्।
बेलाबखत धावनमार्ग चर्किने जस्ता प्राविधिक समस्या देखापर्ने गरेका छन् भने विमान कम्पनीहरूले एकै समय उडान गर्न खोज्नेजस्ता व्यवस्थापकीय कठिनाइ पनि देखिएका छन्।बीबीसीबाट