वामदेवका कारण नेकपाको शिर्ष तहमा विवाद


काठमाडौं असाेज २५। निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर पार्टीका नेता वामदेव गौतमलाई सांसद बनाउने प्रयासप्रति नेकपाकै दोस्रो तहका नेताले असन्तुष्टि व्यक्त गरेका छन् । गौतमलाई सांसद बनाउने प्रयासबारेमा खुला रुपमा बोल्न तयार नभए पनि पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालका साथै माधवकुमार नेपाल निकटका स्थायी समिति सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

ओलीनिकट एक स्थायी समिति सदस्य भन्छन्, ‘निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर उहाँ किन सांसद बन्न मरिहत्ते गरिरहनुभएको छ, बुझ्न सकिएको छैन ।’ जनतासँग विभिन्न प्रतिबद्धता जनाएका जनप्रतिनिधिले अरु कसैको स्वार्थका लागि जनतालाई धोका दिनु पनि गलत भएको उनले बताए ।

 

‘उहाँले जनतासँग केकस्ता प्रतिबद्धता जनाउनु भएको थियो, प्रतिबद्धता पूरा नगरी किन छोड्दै हुनुहुन्छ’, उनले भने । यस्तो प्रवृत्तिले जनताप्रति पार्टीको विश्वास गुम्ने उनको तर्क छ।

 

नेकपाका नेताहरुले पार्टीभित्र छलफल नै नगरी एक्कासि यस्तो प्रस्ताव आउनु गलत भएको बताएका छन् । ओली पक्षकै अर्का नेता भन्छन्, ‘सभ्य मानिसका लागि यस्तो कुरा सुहाउँदैन् । जनताले आफ्नो मत जायर गरेपछि कम्तीमा एक कार्यकाल धैर्य गर्ने साहस उहाँले गर्नुपथ्र्यो ।’ गौतमले सांसद बन्न गरिरहेको मरिहत्ते राजनीतिक नेताका लागि अशोभनीय भएको उनको तर्क छ ।

 

‘उहाँ कुनै स्वार्थका लागि आउन खोजेको देखिन्छ तर त्यसले उहाँको राजनीतिक करिअरलाई मात्र होइन, समग्र पार्टीलाई हेर्ने दृष्टिकोणमा समेत प्रभाव पर्छ,’ उनले भने । ओली पक्षका दुई उच्चस्तरीय नेताका यी भनाइबाट गौतमको सांसद बन्ने प्रयास अध्यक्ष ओली पक्षले नरुचाएको पुष्टि हुन्छ।आजको नागरिक दैनिककबाट।