उपचुनाव लड्ने प्रस्ताव आएपनि अस्वीकार गर्छु: प्रवक्ता श्रेष्ठ


काठमाडौं असाेज २८। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकताका सुत्राधारमध्यका हुन् नेताद्वय वामदेव गौतम र नारायणकाजी श्रेष्ठ। जतिखेर दुबै पार्टीबीच एकता हुने घोषणा गरेर वाम गठबन्धन चुनावमा होमियो, गत वर्ष। तर, ती दुबै नेताले पराजय भोगे।

जसकारण नेकपाले ती दुबैलार्इ संसदमा ल्याउने चाहाना बेलाबेलामा राख्ने गरेको खबर सार्वजनिक हुन्छ। त्यसमा पनि नेता गौतम उपचुनावका लागि लविङ नै गरिरहेका थिए।

 

बर्दिया १ मा चुनाव हारेका नेकपाका अर्का नेता वामदेव गौतमले काठमाडौं ७ मा चुनाव लड्न रामवीर मानन्धरलाई राजीनामा गराउन सहमत गराएका थिए। तर, चौतर्फी आलोचना भएपछि गौतम तत्काल उपचुनाव लड्ने निर्णयबाट पछि हटेका छन्।

 

यही बेला नेकपाका प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले उपचुनाव लड्ने कुनै योजना नरहेको र प्रस्ताव आएपनि स्वीकार नगर्ने घोषणा गरेका छन्।

 

शनिबार गोरखामा आयोजित एक कार्यक्रममा उनले कसैले प्रस्ताव गरेपनि आफू उपचुनाव नलड्ने बताए। ‘उपनिर्वाचनमा लड्ने मेरो कुनै योजना छैन’ उनले भने, ‘कसैले प्रस्ताव राखेपनि म स्वीकार गर्दिन।’श्रेष्ठ गोरखा १ मा नयाँ शक्तिका नेता डा। बाबुराम भट्टराईसँग पराजित भएका थिए।