लमहीको विकट क्षेत्रमा सभामुख

घोराही, असोज २८। सभामुख कृष्णबहादुर महराले आज दिनभर लमहीको विकट क्षेत्रको अनुगमन भ्रमण गर्नुभएको छ ।

यहाँको लमही नगरपालिकाका विकट क्षेत्र मानिने हात्तिखालको वडा नं ९ मा पर्ने गोठुवा, पैते, अमेलियालगायतका स्थानमा उहाँले आज दिनभर घुमेर स्थानीयसँग भेटघाट गर्दै उनीहरुको गुनासो सुन्नुभयो ।

 

लमही नगपालिकाका प्रमुख जीतबहादुर केसीका साथमा महरा लमहीको विकट गाउँमा पुग्नुभएको हो । सभामुख महरालाई भेट्नासाथ स्थानीवासीले उहाँसँग विकासका योजना मागेका थिए । उनीहरुले आफ्नो क्षेत्रमा विकासको अनुभूति हुने गरी बजेट विनियोजनमा सघाउन सभामुख महरालाई आग्रह गरेका थिए ।

 

लमही–९ निवासी पहलसिंह ठकुरीले राप्ती नदीमा पक्की पुल, सडक, विद्युत् पानीलगायत आधारभूत सेवा सुविधाबाट आफूहरु बञ्चित भएको भन्दै विकासको अनुभूति हुने गरी गाउँको विकासमा सघाउन आग्रह गर्नुभयो ।

 

“नगरपालिका भित्रै छौँ, तर सेवा सुविधा केही छैन”, उहाँले भन्नुभयो, “गाउँमा विकास हुने केही प्रयास थाल्नुपर्छ ।” सभामुख महरासँग सोही ठाउँकी लक्ष्मी कुमाल र ननि कुँवरले सुकुम्बासीका समस्याको समाधान हुन नसकेको र किसानलाई निःशुल्क मल र बीउ वितरण हुन नसकको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

पर्यटकीय क्षेत्रको विकासका लागि दशँै शुभकामना तथा खेलकूद प्रतियोगिता कार्यक्रममा सहभागीले सभामुखसँग खुलेरै विकासका पूर्वाधार माग गरेका हुन् । सो अवसरमा सभामुख महराले देउखुरीको हुलाकी सडक कोइलाबास नाकाको विकासअन्तर्गत केन्द्रीय सरकारसँग छलफल चलिरहेको जानकारी दिनुभयो ।

 

देउखुरीको कोइलाबास नाका खोल्ने र दाङको समग्र नाकाको विकासमा केन्द्रीय सरकारको ध्यान गएको आफूले पाएको सभामुख महराले बताउनुभयो । “यस विषयमा मैले पनि पहल गरेको छु, सरकार पनि गम्भीर भएको पाएको छु”, सभामुख महराले भन्नुभयो, “लमही नगरपालिकाले नगरको विकासका लागि बृहत् गुरुयोजना बनाउन आवश्यक छ, देउखुरीमा टुरिजम क्षेत्र र राप्ती नदीमा ¥याफ्टिङको सम्भावना छ ।”

 

कार्यक्रममा पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्माले लमही नगरपालिका र राजपुर गाउँपालिकाका दुई वटा वडालाई जोड्न राजपुरको भीमबाधमा पक्की पुलको आवश्यक रहेको बताउनुभयो । लमही नगरपालिका वडा नं ९ भीमबाध र राजपुर गाउँपालिका वडा नं ७ गोठुवा जोड्ने पुल बनेमात्रै समग्र दुई वटा वडाको विकास हुने उहाँको भनाइ थियो ।रासस,