राजा महेन्द्रले बनाएकाे पानीजहाज एेन ४८ वर्षदेखि निष्क्रिय

काठमाडौं, कात्तिक १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशकै पानीजहाजमा सामान ढुवानी गर्ने घोषणा गरेको साढे दुई वर्ष भयो। अखिल नेपाल महिला संघको २०७३ जेठ ४ को कार्यक्रममा उनले आफ्नै पानीजहाज किनेर सामान ओसार्ने बताएका थिए।

 

त्यही घोषणाअनुसार सरकारले यस वर्षको नीति तथा कार्यक्रमको बुँदा ५२ मा कोसी, गण्डकी र कर्णाली नदीमा जल यातायात सञ्चालन गर्न कानुनी, नीतिगत र संस्थागत व्यवस्था गरिने उल्लेख छ।

 

बजेट वक्तव्यको १७५ बुँदामा कोसी, गण्डकी र कर्णाली नदीमा जलमार्ग यातायात सञ्चालन गर्न सम्भावना अध्ययन कार्य सम्पन्न गर्ने भनिएकोखबर कान्तिपुर दैनिकमा छ। 

 

प्रधानमन्त्री ओलीले नेपालमा पानीजहाजको कल्पना गरेको ४८ वर्षअघि २०२७ सालमै मुलुकमा पानीजहाज दर्ता ऐन बनिसकेको थियो। तत्कालिन राजा महेन्द्रले राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले पानीजहाज ऐन बनाएका हुन्।

 

ऐन २०२७ चैत ३० मा राजपत्रमा प्रकाशित भयो । ऐन कार्यान्वयनमा नआए पनि राजनीतिक व्यवस्था परिवर्तनसँगै संशोधन हुँदै गयो । तर, ऐनमा राखिएको प्रावधान भने कार्यान्वयन हुन सकेको छैन।