बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई झुण्ड्याइएको खुलासा, पोष्टमार्टम रिपोर्ट नै फर्जी


महेन्द्रनगर कार्तिक २०।बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षिया निर्मला पन्तको शवको पोष्टमार्टम पनि जालसाझीपूर्ण हुन सक्ने संकेत प्राप्त भएको छ । साथै, निर्मलाको हत्याको मूल कारण कण्ठ ९भोकल कर्ड० भाँचिएर नभई मेरुदण्डको माथिल्लो भाग टुट्दा भएको प्रमाण पनि प्राप्त भएको छ ।

दैनिक मानसखण्डले ११ साउन २०७५ मा पत्रकार पुष्कर भट्टले निम्बुखोडाको उखुबारीमा निर्मलाको शव पाइएपछि छायांकन गरेको भिडिओको गहन अध्ययन गर्दा महाकाली अञ्चल अस्पतालका चिकित्सकले गरेको पोष्टमार्टम झुटो हुन सक्ने पूरापूर सम्भावना देखिएको हो ।

 

भिडिओमा निर्मलाका हात र अन्य अंग कस्सिएका छन् अर्थात कक्रक्क परेका छन् । तिनलाई मोड्न सकिने देखिन्न । तर, निर्मलाको टाउको भने फनफनी घुम्छ अर्थात लुलो छ । सो भिडिओ लाखौं दर्शकले हेरिसकेका छन् । अनुसन्धानकर्ताहरुले पनि हेरेको हुनुपर्छ । तर, निर्मलाको टाउको फनफनी घुम्ने दृश्यतर्फ अहिलेसम्म कसैले ध्यान दिएको छैन ।

 

निर्मलाको टाउको फनफनी घुम्नु आश्चर्यजनक हो किनभने निर्मलाको हत्या घाँटी थिचेर भएको भनिएको छ । घाँटी थिचेर अगाडिपट्टीको स्वर नली अर्थात भोकल कर्ड भाँचिदा टाउको फनफनी नघुम्ने अर्थात् लुलो नहुने तर सर्भिकल क्वाइन अर्थात् मेरुदण्ड ९स्पाइनल कर्ड०को माथिल्लो हड्डी टुटेमा मात्र घाँटी लुलो हुँदा टाउको फनफनी घुमाउन सकिने विशेषज्ञहरुको कथन छ ।

 

सेवानिवृत्त प्रोफेसर तथा धनगढीमा बसेर सेवा प्रदान गरिरहेका सुदूरपश्चिम प्रदेशका वरिष्ठ चिकित्सक डा। सुभेष राज कायस्थका अनुसार भोकल कर्ड भाँचिएर मृत्यु भएको अवस्थामा घाँटी पनि कक्रक्क हुन्छ तर स्पाइनल कर्डको सबैभन्दा माथिल्लो भाग टुट्दा मात्रै घाँटी यसरी फनफनी घुम्छ । सर्भिकल क्वाइन भनिने स्पाइनल कर्डको सबैभन्दा माथिल्लो भाग झुण्ड्याइएको अवस्थामा मात्रै भाँचिने डाक्टर कायस्थको भनाई छ ।

 

तर, महाकाली अञ्चल अस्पतालमा गरिएको पोष्टमार्टमको रिपोर्टमा अगाडिको किलकिले हड्डी अर्थात् भोकल कर्ड भाँचिएर निर्मलाको मृत्यु भएको उल्लेख छ । पोष्टमार्टममा उल्लेखित यो कुरा उच्चस्तरीय छानविन समितिको प्रतिवेदनमा उल्लेख छ । त्यो प्रतिवेदनमा सर्भिकल क्वाइन भाँचिएको कुनै तथ्य उल्लेख छैन ।

 

सर्भिकल क्वाइन र भोकल कर्ड दुबै भाँचिएको अवस्थामा मृत्युको मुख्य कारण सर्भिकल क्वाइन नै हुने भए पनि भोकल कर्ड भनिनु मेडिकल दृष्टिकोणले ठूलो त्रुटी हो ।

 

११ साउनमैं सार्वजनिक भएको भिडिओको अध्ययनबाट यो नयाँ तथ्य पत्ता लागेपछि थुप्रै प्रश्न जन्मिएका छन् ।

शवको घाँटी फनफनी घुमिरेहको अवस्थामा पनि महाकाली अञ्चल अस्पतालका चिकित्सकले स्पाइनल कर्ड वा सर्भिकल क्वाइन भाँचिएको भनेर पोष्टमार्टम रिपोर्टमा उल्लेख गरेका छैनन् । उच्चस्तरीय छानविन समितिको प्रतिवेदन अनुसार पोष्टमार्टममा तीनजना डाक्टरहरुको संलग्नता रहेको थियो । ती डाक्टरहरुको नाम भने प्रतिवेदनमा उल्लेख छैन ।

 

भिडिओमा देखिएअनुसार प्रहरी सेवामा ३० वर्ष विताएर रिटायर हुन लागेका डिएसपीसहित तीनजना इन्स्पेक्टर शव नजिकै उपस्थित छन् । उनीहरुले घाँटी फनफनी घुमिरहेको हेरिरहेका छन् । उनीहरुकै निर्देशनमा शवको घाँटी प्रहरीले नै फनफनी घुमाएको छ । तर, पोष्टमार्टम रिपोर्ट र प्रहरीले जारी गरेका सबै सूचनामा त्यो जानकारी लुकाइएको छ ।

 

करिब तीन दशक अपराध अनुसन्धानमा बिताएका तीनजना प्रहरी अधिकृत शव पाइएको स्थलमैं थिए र त्यसपछि करिब आधा दर्जन छानविन समिति बनेका छन् । तर, सर्भिकल क्वाइन भाँचिएको बारे उल्लेख नगर्ने पोष्टमार्टममा संलग्न डाक्टरहरुलाई अहिलेसम्म त्यसबारे सोधपुछ गरिएको छैन ।

 

विज्ञहरुका अनुसार, झुण्ड्याइएको अवस्थामा सर्भिकल क्वाइन भाँचिएपछि मृत्यु हुन्छ र कहिलेकहीं भोकल कर्ड पनि भाँचिन्छ । तर, भोकल कर्ड टुटेर मृत्यु भएको केसमा आप से आप सर्भिकल क्वाइन अर्थात मेरुदण्डको सबैभन्दा माथिल्लो भाग भाँचिन्न ।

 

भिडिओमा सर्भिकल क्वाइन नै भाँचिएको देखिन्छ । डा। कायस्थका अनुसार झुण्ड्याइएको अवस्थामा मात्रै सर्भिकल क्वाइन भाँचिन्छ । यसबाट निर्मलाको हत्या झुण्ड्याएर गरिएको भन्ने दावीलाई बल मिल्छ ।

 

निर्मला हत्याकाण्डपछि चर्केको आन्दोलनका क्रममा आन्दोलनकारीले निर्मलाको हत्या बम दिदीबहिनीको घरको आँगनमा रहेको अम्बाको रुखमा झुण्ड्याएर गरिएको दावी गरेका थिए । घटनाको दिन अर्थात् १० साउन २०७५ को एक साता नबित्दै अम्बाको त्यो रुख काटिएको थियो । त्यो रुख अझै पनि चर्चाको विषय नै छ । यो समाचार कंचनपुरबाट प्रकाशित हुने मानसखण्ड दैनिकमा छापिएको छ ।