प्रदेश नं ३ को राजधानी हेटौँडा नै स्थायी राजधानी मुख्यमन्त्री डोरमणि पौडेल

हेटौँडा कार्तिक २२ । उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी कायम गराउन हेटौँडाका उद्योगी व्यवसायी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, बुद्धिजीवी तथा सञ्चारकर्मीसँग बेग्लाबेग्लै र सामूहिक रूपमा छलफलसमेत भएको छ ।

 

हेटौँडा औद्योगिक, व्यापारिक, प्रशासनिक र राजनीतिकका साथै भौगोलिक वातावरणले राजधानीको लागि उपयुक्त रहेको छलफलमा सहभागीहरूले जोड दिएका छन् । हेटौँडा प्रदेश नं ३ को मुख्य नाकासमेत रहेको छ ।

 

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडालाई स्थायी राजधानी बनाउनुपर्ने बताएका छन् । उनले हेटौँडा सबै दृष्टिकोणले स्थायी राजधानीका लागि उपयुक्त भएकाले सबैको सहयोग आवश्यक रहेको बताए ।

 

प्राध्यापक रामविलाश यादवले हेटौँडा प्रदेश नं ३ को नाका भएकाले प्रदेशको लागि उपयुक्त भएको धारणा राखे । व्यवसायी रामप्रसाद घिमिरेले हेटौँडा प्रदेशको राजधानी भएमा यस क्षेत्रको थप विकास हुने बताए ।