अब विद्युतीय कारमा मुख्यमन्त्री पौडेल पनि सरर


काठमाडौं कार्तिक २७।   प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अब विद्युतीय कार चढ्ने भएका छन्। उनका लागि प्रदेश सरकारले चीनमा निर्मित बिवाइडी कम्पनीको कार खरिद गरेको हो। सूर्या गुड्स सप्लाइ प्रालिमार्फत खरीद गरिएको उक्त कार दुई घण्टा चार्ज गरेपछि ४०० किमीसम्म चल्ने ३१७ भोल्ट क्षमताको रहेको जनाइएको छ।

विद्युतीय कार १० वर्षसम्म सामान्य ब्याट्री मर्मत मात्र गरे पुग्ने बताइएको छ । पेट्रोल र डिजेलको कार–जीपभन्दा सञ्चालन खर्च निकै कम हुने विशेषता भएको सो कारको मूल्य ५५ लाखमा खरीद गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

 

प्रदेश सरकारले प्रदेशसभामा नीति तथा कार्यक्रम र बजेटमा ३ प्रदेशमा आगामी १० वर्षभित्र पेट्रोल, डिजेलबाट चल्ने सवारी विस्थापन गरी विद्युतीय सवारी साधन चलाउन प्राथमिकता दिने योजना प्रस्तुत गरिएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले छिट्टै चीनबाट २५ वटा सार्वजनिक यातायातका विद्युतीय बस पनि खरीद गर्ने प्रक्रिया चलाएको बताए।

 

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनका लागि पनि विद्युतीय गाडी खरिद गरिसकिएको छ।