युवालाई राजनीतिमा आरक्षण दिइनुपर्छ‘जात जातिलाई भन्दा : डा. शशाङ्क कोइराला

काठमाडौँ, मङ्सिर ३ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले जात जातिलाई भन्दा युवा पुस्तालाई राजनीतिमा आरक्षण दिइनुपर्नेमा जोड दिनुभएको छ ।

 

सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘म र साहित्य’ विषयक छलफल कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दैै उहाँले ६० प्रतिशत भन्दा बढी ४० वर्ष मुनिका युवा भएपनि राजनीतिमा उपयुक्त अवसर पाउन नसकेको बताउनुभयो ।

 

“पार्टीमा रक्तसञ्चार गराउन युवालाई अघि सार्नुपर्छ, पुराना नेतासँग अनुभव हुन्छ, अनुभव ग्रहण गर्दै युवा राजनीतिमा सक्रिय हुनुपर्छ ।” उहाँले भन्नुभयो, “पार्टीको केन्द्रीय समिति, विभाग र अन्य तहमा युवालाई अघि बढाउनुपर्छ ।” दुई तिहाइ बहुमतको सरकारले ठोस योजना ल्याउन नसकेको उहाँको आरोप छ । उहाँले सामाजिक सञ्जालमा भन्दा युवा, विद्यार्थीको सक्रियता साहित्यिक कृति पढ्नमा समय दिन सुझाउनुभयो ।

 

महामन्त्री कोइरालाले आदेश आचार्यले लेख्नुभएको ‘पारानोइया’ पुस्तकको विमोचन गर्नुभएको थियो । कार्यक्रममा साहित्यकारहरु भुवन ढुङ्गाना, तोया गुरुङ, रामकुमार पाँडे, धीरेन्द्र प्रेमर्षि, नायिका मनीषा कोइराला, फाउन्डेसनका सचिव अतुल कोइराला लगायतले सामाजिक सञ्जाललाई किताबको विकल्पका रुपमा प्रयोग गर्नुनहुनेमा जोड दिनुभयो ।      रासस