‘मदिरा’ नै घरेलु हिंसाको मुख्य कारक

दार्चुला, मंसिर ३ । दार्चुलाको नौगाड गाउँपालिका–४ की ४५ वर्षीया कलावती टमटा श्रीमान देवेन्द्र टमटाको यातना सहन नसकी न्याय पाग्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाको महिला सेलमा पुगिन् । श्रीमानले दिनहुँ घरमा मदिरा सेवन गरी कुटपिट र गालीगलौच गर्न थालेपछि उनी न्याय माग्दै जिल्ला प्रहरी कार्यालय पुगेकी हुन् ।

 

एक दिन दुई दिन मात्र हैन, दिन दिनै मदिरामा लट्ठिएर अश्लिल गालीगलौज गर्ने, कुटपिट गर्ने, आफूले कमाएको रकमसमेत मागेर मदिरा सेवन गरेर सक्न थालेपछि प्रहरीको सहयोग माग्नु परेको टमटाले बताइन् । नौगाड गाउँपालिकाबाट हाल सदरमुकाम खलङ्गामा मजदुरी गर्दै बसेका दुवैजनाबीच मदिराका कारण दैनिक झैझगडा हुन थालेपछि न्याय माग्न आएको उनको भनाइ थियो । घरमा तीन छोरा र दुई छोरी छन् । ‘छोराछोरी कसरी पढाउने चिन्ता छैन, मदिराले घरबार उजाड बनायो’ उनले गुनासो पोखिन् ।

 

यो त उदाहरण मात्रै हो, दार्चुलामा पछिल्लो समय मदिराका कारण कैयौँको घरबार बिग्रिएको छ भने मदिराले घरेलु हिंसा, महिला हिंसा तथा ज्यानै गएका घट्नाहरु बढ्दै गएका छन् ।

 

मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा एक वर्षको अवधिमा ३२ वटा घरेलु हिंसाका घटना घटेका छन् । अधिकांश घटना मदिराका कारण भएको इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले बताए ।

 

इन्सेकले जनवरी २०१८ देखि हालसम्म जिल्लामा सङ्कलन गरेको घटनाको वार्षिक पूर्व समीक्षा गोष्ठी गर्दै जिल्लामा घरेलु हिंसा बढ्दो क्रममा रहेको जनाएको हो । इन्सेक मात्र हैन प्रहरीका अनुसार समेत घरेलु हिंसाको कारक मदिरा नै रहेको छ ।