जनतामा उत्साह जगाउने गरी काम गर्न निर्देशन

विराटनगर, मङ्सिर ७ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतामा उत्साह जगाउने गरी काम गर्न प्रदेश मातहतका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको मन्त्रालयअन्तर्गत प्रगति समीक्षा कार्यक्रममा उहाँले जनतामा निराशा छाउँदै गएको र सरकारले परिणाम देखाउने गरी काम गर्न नसकेको जस्ता विषय प्रचारमा आउन थालेकाले जनताको आशालाई जीवित पार्न मन्त्री र कर्मचारीले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ भने ।

 

प्रदेश सरकारको बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने सम्पूर्ण संयन्त्र आगामी १५ दिनभित्र तयार गर्न निर्देशन दिँदै उनले भने, “आगामी १५ दिनभित्र आवश्यक पर्ने सबै संयन्त्रहरु तयार गरेर अगाडि बढ्नुहोस् ।” मन्त्री राईले समय खेर नफालि कर्मचारी, कार्यालय, कार्यविधि, निर्देशिका सबै तयार पारेर बजेट कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । रासस