नेकपाले केन्द्रीय सदस्यको कार्य विभाजन आज गर्ने

 

काठमाडौं मंसिर १०।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय सदस्यको कार्य विभाजन आज गर्ने भएको छ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यबिभाजन टुङ्ग्याउने नेकपाले जनाएको छ ।

अस्ती शनिबार बसेको बैठकले नै नेताहरुको कार्यबिभाजन गर्ने भनिएपनि थप छलफल आवश्यक रहेको भन्दै आजका लागि सारिएको हो ।

केन्द्रीय सदस्यको कार्य्विभाजन पछि मात्रै जनवर्गीय संगठनको एकिकरण प्रक्रियाको विषयमा प्रवेश गर्ने अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयले जनाएको छ ।

पार्टी एकता भएको ६ महिना वितिसक्दा पनि जिम्मेवारी नदिइएको भन्दै नेताहरुले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । पार्टीले गर्ने सबै निर्णय सचिवालय बैठकबाट मात्र हुने गरेको भन्दै तल्लो तहका नेता कार्यकर्ताले नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।

जिम्मेवारी बाँडफाँडको प्रस्ताव समेत स्थायी समितिले अनुमोदन गर्नुपर्ने केही नेताको माग छ ।