आईजीपी सर्वेन्द्र खनाल ३३ किलो सुन प्रकरणका अभियुक्तसँग भेट

काठमाण्डु,  मंसिर १० – आईजीपी सर्वेन्द्र खनालले ३३ किलो सुन प्रकरणका अभियुक्तसँग भेट भएको छ । सुन तस्करीमा अनुसन्धान भइरहँदा भागेका ठाकुरप्रसाद ढूंगानाको मुद्दा उच्च अदालतमा विराटनगरमा विचाराधिन रहेको छ ।युनाईटेड अरब इमिरेटस ९युएई० को दुबईमा आयोजित एउटा कार्यक्रममा सुन तस्कर ढुंगाना, प्रहरी महानिरीक्षक खनाल, नायब महानिरीक्षक निरजबहादुर शाही, एसएसपी देउती गुरुङ र एसपी उमेशराज जोशी एउटै मञ्चमा देखिएका हुन् । उनीहरु सँगै एकै मञ्चमा बोलेको मात्र नभर्इ रात्रिभोजमा समेत सरिक भएका छन् । स्रोतका अनुसार महानिरीक्षक खनालसँग पुरानो परिचय भएका ढुंगानाले उनलाई दुबईमा स्वागत सत्कार समेत गरेका थिए ।

काठमाण्डुमा कान्तिपुर होलिडे र एवल टुर्स एण्ड ट्राभल्सका संचालक रहेका ढुंगाना सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेको भेटिएपछि गृह सहसचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले बयानका लागि बोलाएको थियो । समितिमा हाजिर भएका ढुंगाना बयान लिएर तारेखमा छुटेकै बेला असारदेखि सम्पर्कबिहिन भएका थिए ।भागेको केही समयपछि समितिको अनुसन्धानले सुन तस्करीमा उनको संलग्नता पुष्टि गरेको थियो । विमानस्थल र सीमामा कडा निगरानी हुँदाहुँदै उनी भागेका थिए ।

 

अनुसन्धानको क्रममा दुबईमा ग्रीनलाइन ट्राभल्स एण्ड टुर्सका सञ्चालक समेत रहेका ढुङगाना तस्करीका मुख्य नाइके गोरे भन्ने चूडामणि उप्रेतीको साझेदार रहेको खुलेको थियो ।

रातो घेरामा सुन तस्करीमा स‌लग्न ठाकुरप्रसाद ढूंगाना ।

 

सुन अनुसन्धान टोलीले ढुंगाना संचालक रहेको लाजिम्पाटस्थित एवल टुर्स एण्ड ट्राभल्स र कान्तिपुर होलिडेमा छापा हानेर शिलबन्दी गरी मोरङ जिल्ला अदालतमा मुद्दा बुझाएको थियो । अदालतले १० लाख धरौटीमा छाडेका ढुंगानाको उच्च अदालत बिराटनगरमा मुद्दा विचाराधीन छ ।

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनको महासभामा सहभागी हुन गएको प्रहरी टोली गैरआवासीय नेपालीको कार्यक्रममा पूर्व योजनाअनुसारै सहभागी भएको थियो । एनआरएनएको कार्यक्रममा महानिरीक्षक खनाललाई विशेष अतिथि बनाइएको थियो । यसको पूर्व तयारी उनी दुबई पुग्नुअघिबाटै भएको थियो ।

 इन्टरपोलले रेड कर्नर नोटिसमा राखेका बाजेको सेकुवाका संचालक चेतन भण्डारीसँग समेत महानिरीक्षक खनालले भेटघाट गरेका छन् । अमेरिकाबाट भागेर लुक्दै बसेका भण्डारी केही समयदेखि दुबईमा बस्दै आएका छन् ।

यस्तै महानिरीक्षक खनालले दुबई हुँदा विवादास्पद व्यापारी दीपक मलहोत्रासँग पनि भेटेका छन् । प्रहरी निरीक्षकका खनाल रुपमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बस्दादेखि विशेष सम्बन्ध भएका मल्होत्रालाई उनले संरक्षण गर्दै आएको चर्चा यसअघिदेखि नै चल्ने गरेको छ ।

बोले आइजीपी खनाल

खनालले इन्टरपोलको महासभामा दुबई जाँदा कोही विवादास्पद व्यक्तिलाई नभेटेको बताएका छन् ।

खनालले गैरआवासीय नेपाली संघको शुक्रबार भएको कार्यक्रममा मन्तव्य राखेर एक घण्टामै बाहिरिएको बताउँदै त्यहाँ सुन तस्करीसँग जोडिएका र अन्य विवादित व्यक्तिसँग नभेटेको बताए ।

‘इन्टरपोलको महासभाका क्रममा ५ दिन त्यहाँ रहँदा एनआरएनको कार्यक्रममा गएको हुँ’, खनालले भने, ‘तर त्यहाँ जाँदा पनि मैले कुनै विवादास्पद व्यक्ति आफ्नो छेउमा नआउन् र फोटोसमेत नखिचुन् भनेर पहिले नै सचेत गराएको थिएँ । हुँदै नभएको कुरामा मलाई जोडेर विवादमा ल्याइनु दुःख लाग्दो कुरा भयो ।’

खनालले आफूले एनआरएनको कार्यक्रममा बोल्दै विदेशमा रहँदा नेपाल र नेपालीका शिर झुक्ने काम नगर्न सबैलाई आग्रह गरेको बताए ।

‘मैले त्यहाँका नेपालीलाई मातृभूमिको शिर झुक्ने काम नगर्नु भनेर सम्झाएँ’, खनालले भने, ‘तर मैले त्यहाँ सुन तस्करीमा जोडिएका कसैलाई भेटेको छैन र मैले चिनेको पनि थिइनँ । एक घण्टा बसेर म कार्यक्रमबाट निस्किएँ, अब त्यहाँ को आए, को गए मेरो सरोकारको विषय पनि होइन ।’