महिला सांसद नै समाजमा पिडित अझै हटेन महिला हिसां

काठमाडौँ  मंसिर१०   – बर्दियाकी प्रतिनिधिसभा सदस्य विमला विक पुरुषले जस्तै मोटरसाइकल चलाउँछिन् । छोटो कपाल काट्छिन् । पाइन्ट र सर्ट लगाउँछिन् । उनी पुरुष नेता जस्तै भाषण गर्दा धक नमानी खुलेरै आफ्ना कुरा राख्न सक्छिन् । गाउँका मान्छे उनका अभिभावकलाई ‘तपाईकी छोरी छोराजस्तै छिन्’ भन्छन् । विक भने आफूलाई छोराजस्तो होइन छोरीजस्तै भनेको सुन्न चाहीन्छन् । उनी भन्छिन्, ‘छोरीले यस्तो लगाउनुपर्छ, खानुपर्छ र यही गर्नुपर्छ भन्ने सामाजिक धारणामा परिवर्तनको खाँचो छ ।

 

विकले महिला त्यसमा पनि दलित हुँदा जीवनमा धेरै विभेद भोगिन् । विद्यालयमा पढ्दा सधैँ पहिलो हुने उनले विद्यालय हातामा रहेको सरस्वतीको मन्दिरमा पूजा गर्न पाइनन् । माओवादी आन्दोलन हुँदै जिल्लाको राजनीतिमा सक्रिय हुँदा विकले अनेक आरोप सहनुपरेको थियो । अहिले पनि बेलाबखत त्यस्ता आरोपबाट मुक्त भएकी छैनन् । मोटरसाइकल चढेर कहिले एउटा ठाउँ त एकै छिनपछि अर्को ठाउँ पुगेको देख्दा पुरुष राजनीतिज्ञ छक्क पर्छन् । धेरैले छोटो समयमा धेरै ठाउँमा पुग्नुलाई चरित्रसँगसमेत जोडेर केहीले हेर्ने गरेका छन् । उनी भन्छिन्, ‘समाजले अहिले पनि महिलालाई सक्रिय भएर विभिन्न ठाउँमा पुगेकोभन्दा शान्त भएर एकै ठाउँमा बसेको देख्न मन पराउँछ ।

 

देशको कानून बनाउने ठाउँ प्रतिनिधिसभामा पुग्दासमेत उनले म ‘सांसद मात्रै होइन महिला’ हो भन्ने महसुस गरिरहनुपरेको छ । प्रत्यक्षमा उठ्न खोज्दाखोज्दै महिला त्यसमा पनि दलित भएकाले समानुपातिकमा चित्त बुझाउनुप¥यो । ठूला भनिने नेताले समानुपातिकमा हामी जान पाउँदैनौँ तिमीहरु पाउँछौँ भन्ने गरेका थिए । विक जस्तै समानुपातिक सांसदले समेत आफूलाई ठूलो ठान्ने उनी बताउँछिन् ।

 

विक भन्छिन्, ‘मञ्चमा बस्दा होस् वा बोल्दा वा आसनग्रहणका क्रममा पुरुष सांसदले महिलाभन्दा आफैँ ठूलो हुँ भन्ने सोच्छन् ।

ग्रामीण भेगका अशिक्षित महिला मात्रै होइन सामाजिकरुपमा अगाडि रहेका महिलाले समेत विभेद भोग्नु परिरहेको छ । ग्रामीण क्षेत्रका महिलाले घरभित्रै घरेलु हिंसा भोगिरहेका छन् । शिक्षित र सामाजिकरुपमा चिनिएका महिलाले आफ्नो कार्यस्थलमा सहकर्मीबाट असमान व्यवहार भोगिरहेका छन् ।

 

अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि लडिरहँदा देबु पराजुली आफैँले समेत पटकपटक असमान व्यवहार भोग्नुपरेको छ । महिला त्यसमा पनि अपाङ्गता भएको महिला भएकाले उनले शिक्षादेखि रोजगारीसम्मका लागि धेरै समस्या भोग्नुप¥यो । अपाङ्गता भएकी महिला किन पढ्नुप¥यो र भन्नेदेखि पढेर पनि के नै गर्न सक्ने हो र भन्ने कुरा उनले बाल्यकालदेखि सुन्दै आए पनि हरेस खाइनन् । पराजुृली भन्छिन्, ‘कतै लिखितमा राम्रो अङ्क ल्याउँदा पनि अन्तरवार्तामा अपाङ्गता देख्दा बेवास्ता गर्ने त कतिले काम नै नगरी तलब दिन्छु भन्नेसम्म देखेँ ।

 

अहिले सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । उनका धेरै फेसबुके साथीले फेसबुक र ट्युटरमा बोल्ने र फोटो र स्टाटसमा प्रतिक्रिया गर्छन् । फेसबुकमा मात्रै चिनेका भरमा उनीहरु भेट्न मरिहत्ते गर्छन् तर एकपटक भेटेपछि उनीहरु बोल्न छाड्ने गरेको गुनासो गर्दै पराजुली बताउँछिन्, ‘अपाङ्गता देखेर पनि बोलिरहने साथी थोरै मात्रै हुन्छन् ।

 

नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्यसमेत रहनुभएकी नायिका करिश्मा मानन्धरलाई गत वर्ष सम्पन्न निर्वाचनमा श्रीमान् विनोद मानन्धरले मतदाता नामावलीमा नाम नलेखेको विषय उठाउँदा धेरैले टिप्पणी गरेका थिए । धेरैले उनलाई घरको कुरा बाहिर ल्याएको भनेका थिए । १४ वर्षको उमेरमै चलचित्र क्षेत्रमा छिरेकी उनमा पहिले राजनीतिमा चासो थिएन । अहिले पार्टीको कामले जिल्लाजिल्ला पुग्दा महिला अझै धेरै अन्योलमा रहेको नायिका करिश्माको अनुभव छ ।

 

उनी भन्छिन्, ‘पार्टी प्रवेश भनेर टीका लगाउँदासमेत उनीहरुलाई म के गरिरहेको छु र किन गरिरहेको छु भन्ने जानकारी छैन ।’ ग्रामीण क्षेत्र र शहरी क्षेत्र दुवैमा फरक प्रकृतिको भए पनि विभेद कायम छ । ग्रामीण क्षेत्रमा मात्रै हिंसाका घटना हुन्छन् भन्ने आम धारणा गलत भएको अधिकारकर्मी बताउँछन् ।

 

शहरी क्षेत्रका शिक्षित महिलासमेत पटकपटक असमान व्यवहार भोग्न बाध्य छन् । आफ्नो क्षेत्रमा सक्रिय हुँदा पनि महिलाले के गर्न सक्छ र भन्ने गरेको उनीहरुको अनुभव छ । महिला त्यसमा पनि दलित, मधेशी, अपाङ्गता भएका महिलाले सामाजिक र आर्थिकरुपमा सक्षम हुँदासमेत समाजले उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको सम्बद्ध व्यक्तिको गुनासो छ । धेरैले महिला भएकै कारण अवसर पाएका छैनन् । अवसर पाएकाले समेत महिलाले केही गर्न सक्दैन भन्ने धारणाका कारण अघि बढ्न नसकेको उनीहरूको भनाइ छ ।