मेयरको गाडी किन्न छुट्याइएको ७५ लाख रूपैयाँ ५० शैयाको अस्पताल बनाउनमा खर्च गर्ने निर्णय

मंसिर १० कैलालीको पूर्वी भागमा पर्ने लम्की चुहा नगपालिकाका मेयर महादेव बजगाईंले आइतबार कार्यपालिका बैठकमा प्रस्ताव गरे( मेयरका लागि गाडी किन्न छुट्याएको पैसा अस्पताल बनाउनमा खर्च गरौं।

 

उनको प्रस्तावमा सबै सदस्यले सहमति जनाएपछि मेयरको गाडी किन्न छुट्याइएको ७५ लाख रूपैयाँ ५० शैयाको अस्पताल बनाउनमा खर्च गर्ने निर्णय भएको छ।देशभरिका जनप्रतिनिधिहरू सुविधाभोगी भएको भन्दै आलोचना भइरहेका बेला मेयर बजगाईंले यस्तो निर्णय गरेका हुन्।

 

‘चुहाको नवजागृत विद्यालयले अस्पताल बनाउन दुई बिगाहा जमिन दिने भएको छ। सांसद विकास कोषबाट पनि १ करोड १० लाख आएको छ,’ मेयर बजगाईंले सेतोपाटीसँग भने, ‘रकम नपुग्ने भएपछि मेयरलाई गाडी किन्ने भनेर छुट्याएको रकम अस्पतालमा खर्च गर्ने निर्णय भएको हो।

 

नगरपालिकाले फन्ड म्याचिङबाट पनि १५ लाख रूपैयाँ अस्पताललाई दिएको छ।बजगाईंले यसै वर्षदेखि स्थानीय स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पताल बनाइने बताए।‘विशेषज्ञसहितको आधुनिक अस्पतालको गुरूयोजना बन्दैछ,’ बजगाईंले भने, ‘त्यसपछि टेन्डर गरेर निर्माणमा जान्छौं।

 

उनी अहिले प्रशासकीय अधिकृतसँग मिलेर नगरपालिकाको पुरानो गाडी चढिरहेका छन्। नगरपालिकाको एउटा पुरानो गाडी छ, कहिले उहाँ चढ्नु हुन्छ कहिले म चढ्छु,’ बजगाईंले भने, ‘कहिलेकाहीँ मोटरसाइकलमा पनि हिँड्छु। मेयर हुनुभन्दा पहिला गाडी चढ्दैनथें। मेयर भएपछि गाडी चढ्नै पर्छ भन्ने केही छैन।

 

 

मेयर भएपछि तामझाम गर्नुपर्छ भन्ने मानसिकताले धेरै स्थानीय तहका जनप्रतिनिधि गाडीमा चढ्ने गरेको उनले बताए। जनता गरिब रहिराख्ने, नेता एकाएक गाडीमा चढ्ने त हुनु भएन,’ बजगाईंले भने, ‘जनताले हामीलाई काम गर्न पठाएका हुन्, महंगा गाडी चढ्न होइन।