बर्खास्तमा परेका मन्त्री सोडारीले सरकारी आवासका सामान टिभि, पलङ, बेड बिस्तर आफूले लिएर हिडे

धनगढी । पदीय मर्यादा उलंघन गर्दा बर्खास्तमा परेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीले डेरा सर्दा सरकारी आवासका सामान आफूसँगै लगेका छन् ।

 

सोडारीले टेलिभिजन सेट, पलङ, टेबुल, कुर्सी लगायतका दैनिक प्रयोजनका सामाग्री आफ्नो घर लगेको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले बताए ।

 

मन्त्रीले पदमुक्तपछि सरकारी आवास छोडदा प्रयोग गर्दै आएका सामान मन्त्रालयको स्टोरलाई बुझाई फर(फारक गर्नु पर्ने प्राव्धान छ । तर, बर्खास्त मन्त्री सोडारी र उनीकी पत्नी गीता सोडारीले सरकारी आवासका सामान लगेर गएका हुन् ।

 

सोडारी दम्पतीले सरकारी आवासमा रहेका सुत्ने पलङ, बेड सिरग, कम्प्युटर, प्रिन्टर, मोवाइल फोन र टेलिभिजन सेट लगायतका सामान लगेर गएको मन्त्रालय स्रोतले बतायो ।

 

सोडारीले सरकारी आवासका समानहरु लगेपछि नवनियुक्त मन्त्री कृष्णराज सुवेदीको बसोबासको व्यवस्था गर्न कठिन भएको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खडकाले आवश्यक सामाग्रीका बारेमा जानकारी लिइरहेको बताए । सोडारीले के के सामान लिएर गए भन्ने विषयमा मन्त्रालयले छानविन गरिरहेको छ ।

 

सोडारीको आवासका लागि मन्त्रालयले ११ लाख ७३ हजार खर्च गरेर सामानको खरिद गरेको थियो । आवासमा के (के सामान थिए भन्ने विषयमा जानकारी नभएपनि आवश्यक पर्ने केही सामान भने खरिद गरिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए ।

 

अस्थायी मुकामबाट १५ किलोमिटर आसपासमा घर भएका मन्त्रीले सरकारी आवास सुविधा लिन नपाउने नियमको समेत सोडारीले उल्लङघन गरेका थिए । उनको घर धनगढीमा हुँदा हुँदै सरकारी आवास सुविधा लिएका थिए ।